काठमाण्डौ । पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट थप २ हजार ६०७ जना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार ७ हजार ७११ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ७६८ जनामा र ४ हजार ७७३ जनाको एन्टिजेन परीक्षण गर्दा ८३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ४० हजार ४० पुगेको छ।

पछिल्लो २४ घन्टामा उपत्यकामा ५७० जना संक्रमित थपिएका छन्। जसमा काठमाण्डौका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना छन्।

यो अवधिमा थप २ हजार १४१ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५ लाख ४५ हजार ६६२ पुगेको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।