काठमाण्डौ । सरकारको समेत लगानी रहेको देशकै एकमात्र पुनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्स सञ्चालन भइरहेकै अवस्थामा निजी क्षेत्रका थप ३ रिइन्स्योरेन्स कम्पनी स्थापनाको तयारी भइरहेको खुल्न आएको छ।

बजारमा अहिले अन्नपूर्ण रिइन्स्योरेन्स, प्रुडेन्सियल रिइन्स्योरेन्स र अर्को एउटा रिइन्स्योरेन्स कम्पनी स्थापनाको तयारी भइरहेको खुलेको हो। 

हाल तीनवटै रिइन्स्योरेन्स कम्पनीहरुको स्थापनाका लागि आवश्यक तयारी सुरु भइसकेको स्रोतहरुले बताएका छन् । 

अन्नपूर्ण रिइन्स्योरेन्समा उपेन्द्र महतो समूहको मुख्य लगानी रहने बताइएको छ। विशाल ग्रुपसहित शेष घलेलगायतका एनआरएनहरु अनि चन्द्र ढकाललगायतका उद्योगीव्यवसायीले प्रूडेन्सियल रिइन्स्योरेन्स नामको कम्पनी स्थापना गर्न लागेका छन् । 

अर्को रिइन्स्योरेन्स कम्पनी पनि स्थापनाको तयारी भइरहेको छ । जसमा शंकर ग्रुपका शाहिल अग्रवाल, अशोक खड्कालगायतको लगानी रहने स्रोतहरुले बताएका छन् । 

यी तीन कम्पनीमध्ये प्रूडेन्सिय रिइन्स्योरेन्सको तयारी केही आक्रामक देखिएको छ । यही कम्पनीमा प्रमोटरको रुपमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले पनि लगानी गर्ने भएको छ । 

एनआरएन इन्फ्रास्ट्रक्चरको गत माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्तावित प्रुडेन्सियल रिइन्स्योरेन्समा लगानी गर्ने प्रस्ताव गरेको हो। 

एनआरएन इन्फ्रास्ट्रक्चरको सञ्चालक समितिका अध्यक्ष जीवननाथ लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रुडेन्सियल रिइन्स्योरेन्समा संस्थापक लगानीकर्ता भई १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ। 

उक्त प्रुडेन्सियल रिइन्स्योरेन्स कम्पनी स्थापना गर्दा कम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नलगायत कम्पनीका तर्फबाट हस्ताक्षरलगायतका आवश्यक काम गर्न गराउनका लागि कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उषा खतिवडालाई सम्पूर्ण अख्तियारी दिने भन्ने निर्णय पनि बैठकले गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत खतिवडाले प्रस्तावित प्रुडेन्सियल रिइन्स्योरेन्समा कम्पनीले लगानी गर्ने सम्बन्धमा प्रस्तावमात्र गरेको स्पष्ट पारिन्। ‘प्रारम्भिक चरणमा त्यसमा लगानी गर्ने प्रस्तावमात्र गरेका हौँ’, उनले भने, ‘थप प्रक्रिया अगाडि बढेपछि हामी सबैलाई जानकारी गराउने नै छौँ।’