काठमाण्डौ । अमेरिकी कार निर्माता कम्पनी फोर्डले ३.७ बिलियन डलर लगानी गर्ने भएको छ। 

कम्पनीले अमेरिकी मध्यपश्चिमी राज्यहरु मिचिगेन, ओहियो र मिसौरी राज्यमा इलेक्ट्रिक र ग्यासोलिन सवारी उत्पादनका लागि ३.७ बिलियन डलर लगानी गर्ने जनाएको हो। मिचिगनमा आधारित कम्पनी फोर्डले आफ्नो गृह राज्यमा २ बिलियन डलर लगानी गर्ने जनाएको छ। यसबाट २ हजार नयाँ रोजगारी सिर्जना हुने कम्पनीले जनाएको छ। 

यो लगानी एफ–१५० लाइट्निङ इलेक्ट्रिक पिकअपको उत्पादन बढाउन, फोर्डको डियरबर्न हेडक्वाटरनजिक कारखाना बनाउन र वार्षिक १ लाख ५० हजार ट्रक उत्पादन गर्न प्रयोग गरिनेछ। 

फोर्डसँग यसअघि नै २ लाख ट्रकको प्रि–अडर छ र ग्राहकलाई यसको पहिलो खेप गत साता आपूर्ति गरिएको थियो। 

यस्तै कम्पनीले उक्त लगानी मिचिगानमा रहेको कारखानामा ‘फोर्ड रेन्जर मिड–साइज्ड पिकअप’ र नयाँ फोर्ड मुस्ट्याङ कार उत्पादन गर्न उपयोग गरिने जनाएको छ। यद्यपि कम्पनीले नयाँ मुस्ट्याङ इलेक्ट्रिक भर्जन हुने वा नहुनेबारे केही उल्लेख गरेको छैन।  

कम्पनीले बाँकी ३५ मिलियन डलर नयाँ कस्टमर सर्भिस र प्याकेजिङ सेन्टर बनाउनका लागि बनाउनका लागि प्रयोग गरिने जनाएको छ। यी सेन्टरले ग्राहकलाई प्रत्यक्ष रुपमा अटो पाट्र्सहरु आपूर्ति गर्नेछन्। 

यस्तै कम्पनीले १.५ बिलियन डलर ओहियोमा रहेको एसेम्ब्ली प्लान्टमा नयाँ विद्युतीय व्यावसायिक सवारी बनाउन खर्च गर्नेछ। जसलाई सन् २०२५ मा सार्वजनिक गरिनेछ। कम्पनीले १०० मिलियन डलर इन्जिन प्लान्ट र ट्रान्समिसन फ्याक्ट्रीमा लगानी गर्नेछ। 

मिसौरी राज्यमा फोर्डले ९५ मिलियन डलर लगानी गर्नेछ। यो रकम ग्यासबाट चल्ने ट्रान्जिट कमर्सियल भ्यान र इलेक्ट्रिक ई–ट्रान्जिट भ्यान उत्पादनका लागि अतिरिक्त कारखानाको निर्माणमा खर्च गरिनेछ। 

कम्पनीका अनुसार यी नयाँ लगानीहरुले ६२०० नयाँ रोजगारी सिर्जना हुनेछ। यसका अतिरिक्त कम्पनीले आगामी ५ वर्षको अवधिमा थप १ बिलियन डलरभन्दा बढी रकम लगानी गर्ने घोषणा गरेको छ। यो रकम कामको वातावरण र कारखानामा सुधार ल्याउनका लागि खर्च गरिने कम्पनीले जनाएको छ। –एजेन्सी