काठमाण्डौ । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुबाट प्रवाह हुने कर्जा तथा सापटीमा वृद्धि भएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्मको स्थितिको तथ्यांकबाट यस्तो देखिएको हो। तथ्यांकअनुसार २०७८ चैतसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटी रकममा वृद्धि भएको छ। तथ्यांकअनुसार निष्क्रिय कर्जा (एनपीएल)मा भने ह्रास आएको छ। 

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०७८ असारको तुलनामा १८.२० प्रतिशतले वृद्वि भई २०७८ चैत मसान्तमा ५६ अर्ब ९६ करोड पुगेको छ। समीक्षा अवधिमा कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १९ करोड अर्थात ०.३३ प्रतिशत मात्र रहेको छ। २०७८ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.४४ प्रतिशत रहेको थियो भने २०७७ चैत मसान्तमा यस्तो अनुपात ०.४५ प्रतिशतमात्र रहेको थियो। 

केन्द्रीय बैंकका अनुुसार समीक्षा अवधिमा सक्रिय कर्जा १८.३३ प्रतिशतले बढेको छ भने निष्क्रिय कर्जा १०.२१ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा सक्रिय कर्जा २२.०८ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा ३६.६४ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा लघुवित्त संस्थाको कर्जा प्रवाह वृद्धि दरमा ह्रास आएके कारण कर्जा गुणस्तर मापन गर्ने अन्य सूचकहरुमा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ।

यस्तै केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लगानीमा ह्रास आएको जनाएको छ। वित्तीय संस्थाहरूको कुल लगानी ६ अर्ब ४३ करोड पुगेको छ। जुन २०७८ असार मसान्तको तुलनामा ५६.२७ प्रतिशतले कम हो।