काठमाण्डौ । भारतीय एयरलायन्स कम्पनी भिस्ताराले आइतबार पहिलोपटक एयरबस ए३२१नियो भित्र्याएको छ।

अन्तर्राष्ट्रिय उडानलाई बढावा दिँदै भिस्ताराले पहिलोपटक एयरबस ए३२१नियो भित्र्याएको हो। सन् २०१८ मा भएको सम्झौताबमोजिम जर्मनीको हमबर्गस्थित एयरबस कम्पनीबाट उक्त एयरबस आइतबार बिहान भारतको राजधानी दिल्लीमा ल्याइएको हो। 

यो एयरबस भित्र्याउने भिस्तारा दक्षिण एसियामै पहिलो र विश्वमै थोरै देशका एयरलायन्सहरुमध्ये एउटा बनेको छ। यो न्यारो बडी एयरक्राफुटमा लाई–फ्लाट बेडका साथै विश्वस्तरको क्याबिन इटेरिएर र फिचर्सहरु समावेश छन्। 

भिस्ताराका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिजलाई थङले आफूहरुको अन्तर्राष्ट्रिय उडान विस्तारको दीर्घकालीन योजनामा यो नयाँ एयरबसले थप टेवा प्रदान गर्ने बताए। ‘अहिलेको समय निकै चुनौतीपूर्ण छ’, उनले भने, ‘तर यो एयरबसले यात्रुलाई आरामदायी र विश्वस्तरको सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई साँच्चिकै परिपूर्ति गर्नेछ।’

यो एयरबस कुल १८८ सिट क्षमताको रहेको छ। जसमध्ये १२ बिजनेस क्लास, २४ प्रिमियम इकोनोमी र १५२ इकोनोमी रहेका छन्। यी सबै सिटहरुमा हेडरेस्ट र मुभेबल आर्मरेस्ट फिचर उपलब्ध छन्। 

हरेक सिटमा यात्रुहरुले सिटब्याज इन्टरटेन्मेन्ट र इन–सिट पावर/यूएसबी चार्जिङ पोर्टहरुको सुविधाको लाभ उठाउन सक्ने भिस्ताराले जनाएको छ। यो एयरक्राफ्टमा उडानकै क्रममा यात्रुले वायरलेस कनेक्टिभिटीमार्फत वाईफाई, थ्रीजी मोबाइल डाटामा माध्यमबाट जीएसएम र जीपीआरएसबाट एसएमएस र एमएमएसजस्ता सेवा चलाउन सक्नेछन्। 

यो एयरबसको बिजनेस क्लासमा फुल्ली फ्ल्याट बेडले सुसज्जित छन्। जहाँ प्रत्येक सिटमा १६ इन्चको एचडी टचस्क्रिन टीभी र भिडियो ह्यान्डसेट पनि जडान गरिएका छन्।