बागलुङ । जिल्लाको गलकोटमा निर्माण भएको दरमखोला ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । 

साढे दुई मेगावाट क्षमताको उक्त आयोजनाबाट उत्पादन भएकोे विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाका प्रबन्धक गोपाल न्यूरेले आयोजनाको व्यापारिक उत्पादन सुरु भएको जानकारी दिए । 

‘विद्युत् नियमित उत्पादन भइरहेको छ, यसले विद्युतभार कटौतीलाई टेवा पु¥याउँछ ।’–उनले भने । सयपत्री हाइड्रोपावर प्रालिले तीन वर्षअघि निर्माण सुरु गरेको आयोजना रु ५१ करोडको लागतमा सम्पन्न भएको हो । यसमा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको रहेको छ भने बाँकी स्थानीय र केही निजी क्षेत्रको रहेको छ । 

हिल गाविस– २ को साँदीमा आयोजनाको बाँध तथा अर्गल–७ घुस्मेलीमा विद्युत्गृह रहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई ३३ ‘केभिए’ प्रसारण लाइनमा जोड्ने सहमति भए पनि हरिचौरमा निर्माणाधीन सव–स्टेसनको काममा ढिलाइ भएपछि ११ ‘केभिए’मा जोडिएको हो । 

आयोजनाका इञ्जिनियरसमेत रहेका न्यूरेले विद्युत् प्राधिकरणसँग ३० वर्षका लागि विद्युत् खरिद–बिक्री सम्झौता भएको बताए । सम्झौताअनुसार हिउँदका चार महिनामा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र त्यसबाहेकका आठ महिनामा प्रतियुनिट चार रुपैयाँ ८० पैसामा प्राधिकरणले बिजुली किन्नेछ । 

आयोजनाले वार्षिक रु आठ करोडको विद्युत् प्राधिकरणलाई बेच्ने लक्ष्य लिएको छ । बाँधबाट एक हजार ७४५ मिटरको ‘प्रेसर पाइप’ प्रयोग गरेर दरमखोलाको पानीलाई विद्युत् गृहसम्म ल्याइएको छ । आयोजनाले खोला र ठाउँको प्रयोग गरेबापत कुल मुनाफाको तीन प्रतिशत दुवै गाविसलाई प्रदान गर्ने भएको छ । 

जिल्लाको गलकोट क्षेत्रबाट विदेश पुगेकाहरुले आयोजनामा रु दुई करोड तथा अर्गल र हिल गाविसका स्थानीयवासीले रु एक करोडका दरले सेयर लगानी गरेको आयोजना स्थानीय समन्वय समितिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।