काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले लामो समयसम्म कायम गर्न सकेको भद्र सहमतिका कारण साम्य भएको ब्याजदरको अस्वस्थ्य दौड पुनः सुरु भएको छ । 

एनबीएले असोजदेखि कायम हुने ब्याजदरको सन्दर्भमा ६ महिनाभन्दा बढी समयदेखि कायम भद्र सहमति भङ्ग गर्दै राष्ट्रबैंकको नियमभित्र रही बैंकहरु आफैंले तोक्न पाउने स्वतन्त्रता दिएपछि अवस्था फेरि गञ्जागोल हुन थालेको छ । 

एनबीएको भद्र सहमति भङ्ग भएलगत्तै वाणिज्य बैंकहरु अनेक तिकडम गर्दै अर्को बैंकको निक्षेप तान्ने अस्वस्थ दौडमा लागेका देखिएको छ । नियामक नेपाल राष्ट्रबैंक नेतृत्वले समेत ब्याजदर बढोस् भन्ने चाहना राख्दा त्यसको प्रभाव बैंकिङ प्रणालीमा देखिन थालेको छ । फलस्वरुप नियामकका कतिपय पोलिसीहरुमा लुपहोल्स खोज्ने आरोप खेपिरहेका बैंकहरुले फेरि पनि पुरानै प्रवृति दोहोर्याएका छन् ।

भदौ अन्तिममा वाणिज्य बैंकहरुले असोजका लागि ब्याजदर बढाएर प्रकाशित गरेका थिए, जसअनुसार मुद्दति निक्षेपमा १२.१३ प्रतिशत ब्याजदरको अफर सार्वजनिक भएको थियो । तर, कतिपय बैंकले १२.१३ भन्दा पछाडि पनि अर्को अंक थपेर अर्काको निक्षेप तान्ने चलाखी गरेपछि त्यसले प्रणालीमा पुनः अस्वस्थ प्रतिस्पर्धा देखिएको हो । कतिपय बैंकहरुले १२.१३ प्रतिशतको साटो १२.१३३ प्रतिशत ब्याजदर कायम गरेपछि थोरै भए पनि बढी पाउने आशामा संस्थागत निक्षेपकर्ता त्यस्ता बैंकतर्फ जान थाले । यसले १२.१३ प्रतिशत मात्र ब्याजदर प्रकाशित गरेका बैंकहरु निक्षेप खोसिएर अप्ठ्यारोमा परे । यसैको परिणामस्वरुप एकसाता पनि नबित्दै आधादर्जन बढी बैंकले बुधबार पुनः नयाँ ब्याजदर प्रकाशित गरेका छन् । 

बुधबार स्ट्याण्डर्ड चार्टर्डदेखि प्रभू, लक्ष्मी, मेगा, सिभिल जस्ता बैंकहरुले पनि भदौ अन्तिमको ब्याजदर संसोधन गर्दै दशमलवपछि तीन अंकको दर कायम गर्दै नयाँ ब्याजदर प्रकाशन गरेका हुन् । 

दशमलवपछि तीन अंक राखेर ब्याजदर प्रकाशित गरिएको विषयले प्रणालीमा ठूलै विवाद निम्त्याएको थियो । कतिपय बैंकरहरुले यस्ता विषयमा कडाई गर्नुपर्ने भनेर राष्ट्रबैंकको ध्यानाकर्षण गरे पनि नियामकले खासै चासो नदिंदा दशमलवपछि २ अंक मात्र राखेर दर सार्वजनिक गर्ने बैंकहरु पनि बाध्य भई निक्षेप जोगाउनैका लागि तीन अंक राखेर ब्याजदर पुनः प्रकाशित गर्ने अवस्थामा पुगेका हुन् । 

राष्ट्रबैंकका एक अधिकारी भने केही बैंकले पुनः ब्याजदर प्रकाशित गरी अरुको जस्तो समान बनाएपछि अब अस्वस्थ प्रतिस्पर्धा रोकिने र यसले राम्रै काम गरेको दाबी गरे । ती अधिकारीले कतिपय बैंकहरुलाई आफूहरुले नै ब्याजदर दोहोर्याएर प्रकाशन गर्न भनेको दाबी समेत गरे । 

नेपालका बैंकहरुले विगतदेखि नै नवीन प्रडक्ट ल्याएर प्रणालीमा आउन नसकेको निक्षेप सिर्जना गर्नुभन्दा भएकै निक्षेप तानातानको खेलमा लाग्ने गरेका छन् । एक बैंकले अर्को बैंकको निक्षेप तान्नमै ध्यान दिने गरेका कारण प्रणालीभन्दा बाहिर रहेको निक्षेपलाई ल्याउने विषयमा उनीहरुको भूमिका प्रभावकारी हुन सकिरहेको छैन । 

अवस्था यस्तो छ, बैंकहरुबीच ब्याजदर बढाबढको यो प्रतिस्पर्धा सजिलै रोकिने देखिन्न । बनेका नीतिमा लुपहोल्स खोज्दै आफू अनुकुल गर्ने बैंकहरुको विषयमा नियामक निर्मम नबन्ने हो भने ब्याजदरको लिगलिगे दौड लामो समयसम्म कायम रहने देखिन्छ ।