काठमाण्डौ । मंगलबार एक वाणिज्य बैंक र दुुई बिमा कम्पनीले दशैंअगाडि नै साधारणसभा आह्वान गरेका छन् । यी तीन कम्पनीसहित दशैंअगाडि साधारणसभा आह्वान गर्ने बैंक तथा बित्तीय संस्थाको संख्या १० पुुगेको छ । 

मंगलबार सूचना प्रकाशित गर्दै साधारणसभा आह्वान गर्नेहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, एनबी इन्स्योरेन्स  र नेको इन्स्योरेन्स रहेका छन् । यी तीन कम्पनीमध्ये दुुईले बोनस सेयरको प्रस्ताव गरेका छन् भने एकले बोनस वा अरु एउटाले कुनै पनि किसिमको लाभांशको प्रस्ताव गरेको छैन । 

सिटिजन्स बैंक इन्टरनेशनलले आगामी असोज ९ गतेका लागि आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा यसअघि संचालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस सेयरलाई विशेष प्रस्तावको रुपमा पेश गरिनेछ । यसरी बैंकले १ अर्ब १० करोड रुपैयाँ बराबरको बोनस सेयर लगानीकर्तालाई वितरण गर्नेछ । भदौ १२ गतेसम्म कायम बैंकका सेयरधनीले मात्र बोनस सेयर पाउनेछन् । यो बैंकले बोनस सेयरबाटै ८ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।

एनबी इन्स्योरेन्सले भने आफ्ना सेयरधनीलाई दशैंअगाडि खुशी बनाउन नसक्ने देखिएको छ । यो बिमा कम्पनीले आगामी असोज १० गते २० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । तर, साधारणसभामा बोनस सेयर वा अन्य कुनै पनि लाभांशको प्रस्ताव गरिएको छैन । यो कम्पनीले सेयरधनीहरुलाई ८० प्रतिशत हकप्रदको भारि बोकाउने प्रस्ताव साधारणसभामा पेश गर्नेछ । यो कम्पनीले गत साउनमा मात्रै १ बराबर १ हकप्रद जारी गरी २७ करोडको चुक्तापूँजीलाई ५४ करोड बनाएको थियो । तर, पूँजीवृद्धिको चापका कारण उसले पुनः हकप्रदको भारि बोकाउने देखिएको छ । साधारणसभाका लागि यो कम्पनीले भदो २५ देखि बुक क्लोज गरेको छ । यसको अर्थ भदौ २४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा सहभागी हुन पाउनेछन् । 

नेको इन्स्योरेन्सले पनि असोज १० गते नै आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । यो कम्पनीले १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गर्नेछ । बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी ७१ करोड २८ लाखको उचाईमा पुुग्नेछ । त्यसपछि चुक्तापुँजीको ५० प्रतिशत हकप्रद पारितको प्रस्ताव समेत साधारणसभामा पेश हुँदैछ । यो कम्पनीको बोनस सेयर सुरक्षित गर्न तथा साधारणसभामा सहभागी बन्न भदौ २८ गतेभित्र सेयर खरीद गरिसक्नुुपर्नेछ । २९ गतेदेखि कम्पनीले बुक क्लोजको मिति तोकेको छ । 

दशैंअघि कस–कसको एजीएम ?
माथि उल्लिखित ३ बाहेक अन्य ७ कम्पनीले पनि दशैंअघि नै वार्षिक साधारणसभा बोलाएका छन्।

चार कम्पनीको साधारणसभा भदौभित्र हुँदैछ । प्राइम लाइफ इन्स्योरेन्सले आफ्नो वार्षिक साधारणसभा भदौ २७ गते आह्वान गरेको छ । साधारणसभामा २५ प्रतिशत बोनस सेयरको प्रस्ताव पेश गर्दैछ । वार्षिक साधारणसभामा चुक्तापूँजी वृद्धिको उद्देश्यले १६० प्रतिशत हकप्रदको प्रस्ताव पनि पेश हुनेछ । यो कम्पनीको भदौ १४ गतेदेखि बुक क्लोज भइसकेको छ ।  

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले आगामी भदौ ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । यो कम्पनीले ५ प्रतिशत बोनस सेयर र सतप्रतिशत हकप्रदको प्रस्ताव निर्णयार्थ सभामा पेश गर्नेछ । यो कम्पनीको भदौ १६ गतेदेखि बुक क्लोज भइसकेको छ । 

एनआइसी एशिया बैंकले वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला वार्षिक साधारणसभा आह्वान गरेको हो । यो बैंकको साधारणसभा पनि भदौ ३० गते नै हुँदैछ । साधारणसभामा २० प्रतिशत बोनस सेयरको प्रस्ताव पेश हुनेछ । बैंकको भदौ १६ गतेदेखि नै बुक क्लोज भइसकेको छ । 

यस्तै, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि भदौ ३० गते नै वार्षिक साधारणसभा आह्वान गरेको छ । यो कम्पनीले १० प्रतिशत बोनस सेयरको प्रस्ताव एजीएममा पेश गर्नेछ । अरुण भ्यालीको भदौ ९ गतेदेखि नै बुक क्लोज भइसकेको छ । 

यसैगरी, ङादी ग्रुप पावर लिमीटेडले असोज ४ गते, फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले असोज ८ गते वार्षिक साधारणसभा आह्वान गरेका छन् । ङादीले १० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयरको प्रस्ताव पेश गर्दैछ । यो कम्पनीले भदौ २२ गतेदेखि बुक क्लोज गर्नेछ । यस्तै, फ्रस्ट माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रदको प्रस्ताव समेत एजीएममा प्रस्तुत गर्दैछ । यो कम्पनीले भदौ २६ गते बुक क्लोज गर्नेछ ।

हालसम्म दशैंअगाडि वार्षिक साधारणसभा आह्वान गर्नेमा नबील बैंकले सेयरधनीलाई खुशी बनाउनेछ । कारण, यो बैंकले असोज १० गते आह्वान गरेको वार्षिक साधारणसभामा १८ प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयरको प्रस्ताव पेश गर्दैछ । बोनस सेयरको साथमा सेयरधनीले दशैं खर्चबापत नगद लाभांश पनि पाउनेछन् । यो बैंकले साधारणसभा प्रयोजनका लागि भदौ २७ देखि बुक क्लोज गर्ने यसअघि नै जनाइसकेको छ ।