काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट लाभांश घोषणा तथा साधारणसभामा सबैभन्दा अगाडि भएको एनआइसी एशिया बैंकले दशैंअघि आफ्ना सेयरधनीको मुहार उज्यालो बनाइदिएको छ । 

बैंकको शुक्रबार सम्पन्न २० औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांग्कवेटमा सम्पन्न वार्षिक साधारणसभाले दशैंअगाडि आफ्ना सेयरधनीको मुहार हँसिलो बनाइदिएको हो । सभाले चुक्तापूँजीको २० प्रतिशत अर्थात कुल १ अबृ ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । बैंकले जारी गरेको विज्ञप्तिअनुसार बोनस सेयरको कर प्रयोजनका लागि १.०५ प्रतिशतले हुन आउने ७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ नगद लाभांश समेत वितरणको प्रस्ताव पारित भएको छ । 

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हुने गरी संशोधन गर्ने, बैंकको अधिकृत पूँजी, जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पनि पारित गरेको छ ।

साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा जगदीशप्रसाद अग्रवाल, तुलसीराम अग्रवाल र रामचन्द्र संघई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकमा राजेन्द्रप्रसाद अर्याल, विनोदकुमार प्याकुरेल, आदित्यकुमार अग्रवाललाई सर्वसम्मतीले निर्वाचित गर्यो । यसअघि बैंकको ३२० औं सञ्चालक समितिको बैठकले बैंकको स्वतन्त्र सञ्चालकमा  गणेशमान श्रेष्ठलाई नियुक्त गरेको थियो ।

साथै,साधारण सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालक समितिको बैैठकले सञ्चालक समितिको अध्यक्षमा तुलसीराम अग्रवाललाई सर्वसम्मतिले चयन गरेको बैंकले जनाएको छ । 

बैंकले हाल करिब ५ लाख ७० हजार भन्दा बढी निक्षेप ग्राहक, २८ हजार भन्दा बढी कर्जा ग्राहक र ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकलाई १२५ वटा शाखा तथा बिस्तारित काउन्टर मार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।