काठमाण्डौ । दशैँतिहार तथा छठ लगायतको चाँडपर्वको अवसर पारेर नेपाल क्लियरिङ हाउस लिमीटेड(एनसीएचएल)बाट संचालित कनेक्ट आइपीएसको मोबाईल एप, बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आइपीएसमार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निशुल्क गरिएको छ ।

कनेक्ट आइपीएसको बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको बताइएको छ । 

यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने विश्वास नेपाल क्लियरिंग हाउसले गरेको छ । 

फण्ड ट्रान्सफर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्ट आइपीएसले गत आर्थिक वर्षमा ने. रु. १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ने. रु. ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरिसकेको छ । 

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । १४ भन्दा बढी डिजीटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आइपीएसमार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् । कनेक्ट आइपीएसको मोवाइल एपमार्फ प्रतिकारोबार रु १ लाख तथा प्रति दिन रु २ लाख सम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फण्ड ट्रान्सफरमा भने बैंक वित्तिय संस्थाले रु ५० हजार देखि २ लाख सम्म कारोबार सीमा प्रदान गरेको छ ।