काठमाण्डौ । दशैंको माहौलले छोए पनि बजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । दशैं खर्च जोहो गर्ने उद्देश्यले लगानीकर्ताले पछिल्लो समय सेयर बिक्रीको चाप बढाउँदा बजारमा लगातार झिनो अंकको गिरावट आइरहेको थियो । तर, आजको बजार बढोत्तरीले बजारमा केही थोरै संख्यामा सक्रिय रहेका लगानीकर्ताले सेयरको खरीद चाप बढाउन थालेको देखिएको छ । 

यो दिन नेप्से परिसूचक १३.५८ अंकले बढेर  १५७०.३८ अंकको विन्दूमा फर्किएको छ । केही दिनसम्म न्यून अंकले घटिरहेको बजारमा दोहोरो अंकको बढोत्तरी हुनुलाई सुखद संकेतको रुपमा लिन सकिन्छ । 

परिसूचक दोहोरो अंकले बढे पनि आज दिनभरिको कारोबार ९५ करोड रुपैयाँ हाराहारीमा सीमित बनेको छ । 

दशैंको आगमन भइसकेको र अब सेयर बिक्री गरे तापनि बिक्रीबापतको भुुक्तानी नपाइने भएकाले सेयरको आपूर्तिमा केही कमी आउने र माग बढी भएकै कारण परिसूचक दोहोरो अंकले बढेको विश्लेषकहरु बताउँछन् ।

बजार सेयरको माग र आपूर्तिमा निर्भर रहन्छ । दशैं पर्वकै कारण नजिकिँदो पर्व बिदामा स्टक ब्रोकरलाई सेयर खरिदबापतको रकम भुक्तानी बिदापछि मात्रै गर्ने परिपाटीले समेत आगामी दिनमा आपूर्तिभन्दा माग पक्ष बलियो भई परिसूचक उकालो लाग्ने विश्लेषकहरु जिकिर गर्छन् ।

सेयरको कम आपूर्तिकै कारण आज अधिकांश कम्पनीहरुको सेयरमूल्य बढेको देखिन्छ  । दशैं बिदा यही सातादेखि हुन लागेको छ र बिदा नजिकिएसँगै कारोबार रकम पनि निकै सुस्त हँुदै गइरहेको छ । सेयरको कारोबार संख्या समेत औसतमा एक तिहाइले घट्दा कारोबार रकम समेत १ अर्ब रुपैयाँ तल भइरहेको छ । अब दशैंको बिदा नजिकिएसँगै लगानीकर्ताहरु सेयर कारोबारमा पहिले जति सक्रिय नहुँदा कारोबार रकम समेत दिनानुदिन घटदै जाने विश्लेषकहरुको भनाइ छ ।

यो दिन व्यापार समूहको उपसूचक १.६९ अंकले घटे पनि बाँकी सबै समूहको सूचक हराभरा भयो । बैंकिंग समूह ७.६७ अंकले बढेको यो दिन होटल समूहमा १४.१६ अंक, विकास बैंक समूहमा ३०.४३ अंक, जलविद्युत समूहमा ४३.८६ अंक, बित्त समूहमा १६.२६ अंक, निर्जीवन बिमा समूहमा ९९.५२ अंक, जीवन बिमा समूहमा ५०.५९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.१७ अंक, माइक्रोफाइनान्स समूहमा १०.६४ अंक, अन्य समूहमा ७.६ अंक र म्युचुअल फण्ड समूहमा ०.०४ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८९ कम्पनीका  ३३ लाख ५३ हजार २०१ कित्ता सेयर ९७ करोड ९० लाख ९४ हजार ४०३ रुपैयाँमा किनबेच भयो । 

यो दिन अपी पावर कम्पनीको ४ करोड बढीको सेयर कारोबार भयो । यस्तै, अरुण काबेली पावर लिमीटेडको ३ करोड ५५ लाख, एनसीसी बैंकको ३ करोड ५० लाख बढीको कारोबार भयो भने हिमालयन बैंकको ३ करोड ३८ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

नागरिक लगानीकोषले ३ करोड ९ लाख बढीको कारोबार गरेको यो दिन शिखर इन्स्योरेन्सले २ करोड ९३ लाख, नेपाल रिइन्स्योरेन्सले २ करोड ८४ लाख, नेशनल हाइडोपावर कम्पनीले २ करोड ७६ लाख, सिटिजन्स बैंकले २ करोड ७४ लाख र आइसीएफसी फाइनान्सले २ करोड ४७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ४ वटा कम्पनीको सेयरमा पोजिटिभ सर्किट लाग्यो । 

जनरल इन्स्योरेन्स कम्पनी, युनियन हाइडोपावर, घलेम्दी हाइडोपावर र अपी पावर कम्पनीको सेयरमूल्य १० प्रतिशत हाराहारीले बढ्यो । धेरै कमाउने मुख्य १० कम्पनीको सूचीमा ८ स्थान जलविद्युत कम्पनीले ओगटे । 

यो दिन गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य २ प्रतिशत हाराहारीले घट्यो ।