काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बडादसैँ पर्वलाई लक्षित गरी आवश्यक साना दरका नयाँ तथा सुकिला नोट सटहीका लागि काठमाण्डौसहित देशभर विभिन्न स्थान तोकेको छ ।

राष्ट्रबैंकले यही असोज १० गतेबाट असोज १७ गतेसम्म रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सकिला नोट सटही गर्दैछ । त्यसका लागि राष्ट्रबैंकले विभिन्न स्थान तोकेको हो ।

राष्ट्रबैंकको मुद्रा व्यवस्था विभागद्वारा सोमबार जारी सूचनाअनुसार बैंकको बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागसँगै उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयहरुमात्र नयाँ तथा सुकिला नोट सटहीको व्यवस्था गरिएको छ ।

यसैगरी उपत्यकाभित्र भने नेपाल बैंक लिमिटेडका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिपाट, भक्तपुर शाखाहरुमा नोट सटही गर्न सकिने राष्ट्रबैंकले जनाएको छ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका सिंहदरबारप्लाजा (केन्द्रीय कार्याल)सहित सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोशा शाखाहरुबाट नयाँ तथा सुकिला नोटहरु साट्न सकिने छ ।

उता कृषि विकास बैंक लिमिटेडका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोकबाट पनि नयाँ तथा सुकिला नोट सटहीको व्यवस्था गरिएको राष्ट्रबैंकले जनाएको छ ।

अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट आफ्ना ग्राहकलाई सुकिलो तथा सीमित मात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध हुने भएकाले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाहरुबाट सुकिलो नोट साट्न सकिने सूचनामा उल्लेख छ ।

एक व्यक्तिले एकपटकमा १८ हजार ५०० रुपैयाँसम्मको नयाँ तथा सुकिला नोट साट्न सक्ने सीमा पनि राष्ट्रबैंकले तोकेको छ ।