- धर्म मलासी
काठमाण्डौ । दसैँको मुखमा हरियो तरकारीको मूल्य दोब्बर बढीले बढेपछि उपभोक्ता मारमा परेका छन् ।

दसैँ सुरु हुन अब एक सातामात्र बाँकी छ । तरकारी बजारमा भने एक साताको अन्तरालमै दोब्बर बढीले वृद्धि भएपछि उपभोक्ताको भान्सा महँगिएको हो । 
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको मूल्यसूचीअनुसार हरियो तरकारीको खुद्रा मूल्य गत साताको तुलनामा निकै आकासिएको हो । 
भान्सामा बढी प्रयोग हुने हरियो खुर्सानी, धनियाँ र प्याज अचाक्ली बढेको छ । गत साता क्रमशः प्रतिकेजी ७५, २४५ र ५५ रुपैयाँ रहेको हरियो खुर्सानी, धनियाँ र प्याज क्रमशः ११५, २८५ र १९५ पुगेको छ ।

त्यस्तै गत साता प्रतिकेजी ५५ रुपैयाँ रहेको हरियो फर्सी ४५ रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ । काउलीको मूल्य गत साता प्रतिकेजी १०५ रुपैयाँ थियो । यो साता १३० पुगेको छ ।

यसैगरी गत साता ५५ रुपैयाँ प्रतिकेजी रहेको तिते करेला १०० रुपैयाँ पुगेको छ।

भान्सामा अनिवार्यजस्तै मानिएको आलुको मूल्यमा पनि निकै बढेको छ । गत साता प्रतिकेजी ५८ रुपैयाँ रहेको आलुको मूल्य आज ७० रुपैयाँ पुगेको छ । त्यस्तै ४५ रुपैयाँ रहेको लौका ८० रुपैयाँ पुगेको छ । परवल पनि ६५ रुपैयाँबाट बढेर ८० रुपैया पुगेको छ ।

गत साता प्रतिकेजी ५५ रुपैया रहेको घिरौला ८० रुपयाँ र ७५ रुपैयाँ रहेको भिन्डी १०० पुगेको छ ।

यो साता भेडे खुर्सानी प्रतिकेजी १३० रुपैयाँ पुगेको छ । गत साता भेडे खुर्सानी ६५ रुपैयाँमा पाइन्थ्यो । त्यस्तै ६५ रुपैयाँ प्रतिकेजी रहेको भान्टा ९० रुपैयाँ पुगेको छ ।

यसैगरी गत साता ७३ रुपैयाँ प्रतिकेजी रहेको सुकेको प्याज १२० रुपैयाँ पुगेको छ ।

बानेश्वरको तरकारी बजारमा शुक्रबार बिहान भेटिएकी सरला चम्लागाई तरकारी भाउ सुन्दा आफू तर्सिएको बताउँछिन् । ‘अहिले ५०० रुपैयाँको तरकारले दुई दिन पनि पुग्दैन’, सामान्य रोजगारमा रहेकी उनी भन्छिन्, ‘थोरै तलब हुनेले त अब परिवार पाल्न नसक्ने अवस्था आइसक्यो ।’

सोही तरकारी बजारमा भेटिएकी स्थानीय मीरा थापा सरकारले तरकारीको मूल्य नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने बताउँछिन् । ‘एक सातामै कसरी तरकारीको भाउ दोब्बर तेब्बर भयो’, उनले आक्रोश हुँदै भनिन्, ‘सरकारले अनुगमन गर्नुपर्छ कि पर्दैन, आम उपभोक्ता सधैँ ठगिनुपर्ने ?’