काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान चाड विजयादशमी सुरु भइसकेको छ। दसैँलगत्तै तिहार तथा छठ पनि नजिकिँदोछ। 

सेयर बजारका अगुवाहरुले आउँदा प्रतिनिधिसभाको चुनावमा आआफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यसैले यस वर्षको दसैँमा सेयर बजारका अगुवाहरु रमाइलो गर्नेभन्दा पनि चुनावी घरदैलो गर्ने योजना रहेको बताउँछन्।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले भक्तपुर क्षेत्र नम्बर १ बाट आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। बास्तोला यस वर्षको दसैँमा चुनावी प्रचारप्रसार तथा घरदैलोमा नै होमिने बताउँछन्। ‘आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसारसँगै परिवारजनसँग बसेर रमाइलो गर्ने योजना छ’, उनले भने।

‘विजयादशमीमा रमाइलो गर्दै गर्दा सही तरिकाले आफ्नो स्वास्थ्यको ख्याल राख्दै मनाउनुपर्छ’, बास्तोला भन्छन्, ‘मादक पदार्थ प्रयोग नगरी समाजलाई असर नगर्ने गरी हामीले चाडपर्व मनाउनुपर्छ।’

आफ्नो गाउँ विराटनगरमा दसैँ मनाएको पल सम्झँदै बास्तोला भन्छन्, ‘दसैँ सहरमा भन्दा गाउँमा नै रमाइलो हुन्छ। दसैँको समयमा गाउँमा पिङ खेल्ने, चंगा उडाउने, नयाँ लुगा लगाउनेजस्ता कुराहरूको छुट्टै महत्व हुन्थ्यो।’

विजयादशमीको शुभकामना दिँदै बास्तोला दसैँको फुर्सदिलो समयमा लगानीकर्ताहरुले अध्ययन गरी लगानी रणनीति बनाउनु पर्ने बताउँछन्। ‘दसैँको समयमा लामो समय बिदा हुने भएकाले लगानीकर्ताहरूले उक्त समयलाई सही सदुपयोग गरी सूचीकृत कम्पनीका साथै समग्र बजारबारे अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ’, उनले भने।