–अनन्त्य सुन्दर

काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान चाड बडादसैँमा सेयर बजार ५ दिनका लागि बन्द हुने भएको छ। 

दसैँको उपलक्ष्यमा असोज २६ देखि ३० गते सम्म सार्वजनिक बिदा छ। बजारमा लगानी गर्दै आएका लगानीकर्ताको दसैँमा मनोरञ्जन गर्न आ–आफ्नै योजना छ।  सेयर बजार बन्द हुने भएकाले बजारको हकहितमा खोलिएका संघसंगठनका नेताहरुको दसैँमा लगानी रणनीति बनाउनेदेखि लिएर लगानीकर्तासँग छलफल र तालिमको योजना रहेको छ।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार दसैँमा पोखरा साथै मुक्तिनाथ घुम्ने जाने योजना छ। रौनियार भन्छन्, ‘पोहोर साल साथीभाइसँग दसैँ मनाएको थिएँ। यसपटक कोरोनाको जोखिम कम भएकाले घुम्न जाने योजना छ।’

दसैँको शुभकामना दिँदै रौनियार भन्छन्, ‘बजार बढ्नका लागि नै घट्छ, त्यसैले आफ्नो लगानीमा विश्वास गर्दै दसैँमा बजारको तनाव नलिई चाडपर्व मनाउनु पर्छ।’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलको यसपटकको दसैँमा आफ्नो जन्म घर जाने योजना छ। पोख्रेल भन्छिन्, ‘पोहोर साल कोरोनाले गर्दा दसैँ मनाउन पाइएन, यसपटक अधिकांशले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ। त्यसैले दसैँको टीकाको भोलिपल्ट गाउँ जाने योजना छ।’  

पोख्रेलको गाउँमा साथीभाइसँग भेट गरी दसैँको शुभकामना आदानप्रदानका साथै पुँजीबजारसम्बन्धी छलफल र सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

स्वतन्त्र पुँजीबजार सुधार संघका संयोजक रोहन कार्कीको यसपटकको दसैँ आफ्नो जन्मघर विराटचोकमा गएर मनाउने योजना छ। ‘राजनीतिज्ञहरुका साथै लगानीकर्ताहरुसँग भेटघाट गर्ने योजना छ’, कार्की भन्छन्, ‘दसैँको मौकामा प्रदेशका साथै स्थानीयतहमा संगठन विस्तार गर्ने योजना पनि रहेको छ।’ 

दसैँको शुभकामना दिँदै कार्कीले दसैँमा झन्डै ५ दिन बिदा हुने भएकाले लगानीकर्तालाई अध्ययन गर्नुका साथै आफ्नो लगानी रणनीति बनाउन सुझाव दिएका छन्। 

पोहोर साल कोभिड लागेकाले गर्दा दसैँ मनाउन नपाएकी नेपाल इन्भेस्टर्स फोरमकी सदस्य सिर्जना सुवेदी भन्छिन्, ‘कोरोनाको जोखिम अझै पनि उच्च भएकाले यस पटकको दसैँमा पनि घरमा नै परिवारसँग बसेर मनाउने योजना छ।’ दसैँको शुभकामना दिँदै सुवेदीको स्वास्थ्यको ख्याल राख्दै दसैँ मनाउन सम्पूर्ण लगानीकर्तालाई सुझाव छ।