– रेखा चन्द

काठमाण्डौ । यतिबेला आमनेपाली दसैँलाई भव्यताका साथ स्वागत गरिरहेका छन्। 

नेपालीहरुको महान पर्व विजयादशमी रहेकाले यस पर्वलाई हरेक नेपालीले हर्षोल्लास तरिकाले मनाउने गर्दछन्। मिठो मसिनो खाएर, घरपरिवार तथा नातागोतासँग समय बिताएर, पिङ खेलेर, चंगाा उडाएर दसैँ मनाउने गरिन्छ। यसबाहेक केही व्यक्तिहरु दसैँमा लामो समय बिदा हुने भएकाले घुम्न जाने गर्दछन्। 

बैंक तथा वित्तीय संस्थाका सीईओहरु पनि यसपालिको दसैँ मनाउन आफ्नो गाउँघरसम्म जाने तरखरमा रहेको छन्। 

मुुक्तिनाथ विकास बैंकका प्रमुुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल यसपालिको दसैँमा हेटाँैडा गएर टीका लगाउने योजना बनेको बताउँछन्। ‘गत वर्षहरुमा काठमाण्डौमै माइन्थ्यो। घरमै बसेर ध्यान, योग, किताब पढ्ने काम गर्दथ्येँ’, उनले भने, ‘यसपालि हेटौँडा गएर टीका लगाउने कार्यक्रम बनेको छ।’ 

खाली समयमा पोखरेल ध्यान गर्न रुचाउँछन्। पढ्ने काममा पनि उनको उत्तिकै रुचि छ। उनी बाहिर घुम्न खासै मन पराउँदैनन्।

काठमाण्डौको भन्दा तराईको दसैँ एकदमै रमाइलो हुने सीईओ पोखरेल बताउँछन्। बालापनमा मामाघर विशेष हुने उनको भनाइ छ। ‘मामाघरमा जान्थ्यौँ, त्यहाँ सबै हुन्थ्येँ। मामाघरमा टीका लगाएपछि दक्षिणा पाइन्थ्यो। माछा–मासुुलगायत मिठो–मिठो खानकुरा पाइन्थ्यो’, उनले भने, ‘त्यसकारण खुब रमाइलो र मज्जा लाग्थ्यो।’ 

अहिले खानपान विशेष ध्यान दिने गरेको पोखरेल बताउँछन्। ‘वास्तवमा बच्चाबेलाको जस्तो खुसी र रमाइलो अहिले छैन’, उनले भने, ‘साँच्चै भन्नुुपर्दा त्यो बेला अर्कै खालको रमाइलो हुन्थ्यो, जुुन अहिले छैन।’ 

माछा–मासुुमा भने त्यति सौखिन नभएको पोखरेलको भनाइ छ। ‘म माछा–मासुु खान्छुु तर लिमिटमा खान्छुु’, उनले भने।