– अर्जुन तिमिल्सिना

काठमाण्डौ । दसैँ अगाडिको कारोबारमा बजार लगातार तीन कारोबारमा बढोत्तरी आएको थियो। केही समयदेखि घटेको बजार लगभग बटम लागेको केही बजार जानकारहरु बताउँछन्। 

यसैबीच अब दसैँपछि बजार के होला ? कसरी खुल्न सक्छ भन्ने आमलगानीकर्ताको जिज्ञासा रहेको देखिन्छ। बजारमा केही समयदेखि भोलुम निकै घटेको छ। यसरी भोलुम घट्नुमा लगानीकर्ताले घटेर बेच्न नचाहेको अथवा दसैँ प्रभावले बढेर पनि खान नचाहेको विचार राख्ने बजार जानकारहरुको मत रहेको छ। 

बजारमा असोज मसान्तको प्रभाव सामान्य रुपमा देखिने पनि लगानीकर्ताहरुको मत छ। 

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी आफूले बजारको खासै प्रक्षेपण नगर्ने गरेको बताउँछिन्। ‘बजारको विषयमा अहिले नै भन्न निकै गाह्रो छ’, उनले भनिन्, ‘तरलता र ब्याजदरको अवस्था कस्तो हुन्छ, त्यसले पनि धेरै मात्रामा बजारको अबको दिशा तय गर्ने देखिन्छ। यो महिना किस्ता बुझाउने समय पनि हो। तर, लगानीकर्ताको मनोबल बढेमा राम्रै पनि हुन सक्छ।’

बजार जानकार प्रकाश रजौरे दसैँपछि बजार सकारात्मक हुने बताउँछन्। ‘चाडपर्वले रेमिट्यान्स पनि बढेको छ’, उनले भने, ‘सेबोनले ब्रोकर लाइसेन्स पनि दिँदैछ। पैसा लिएर डिलर कम्पनीहरु पनि आउन सक्छन्। यसले बजारमा सकारात्मक प्रभाव पनि पर्न सक्छ।’

भोलिका दिनमा ब्याजदर घट्ने अवस्था आएमा बजारमा सकारात्मक प्रभाव पर्ने रजौरेको ठम्याइ छ। 

अर्का बजार जानकार दामोदर गजुरेल यही नै बटम नभएको हुन सक्ने र बजार साइडवेज नै चल्ने देखिएको बताउँछन्। ‘प्राविधिक रुपमा बजार धेरै बलियो छैन’, उनले भने, ‘अल्पकालीन लगानीकर्ता भने हावी हुन सक्छन्।’

आधाभूत रुपमा वैदेशिक व्यापारमा घाटा कमी हुँदै गएको र सरकारी खर्च पनि बढ्दै जाँदा तरलता बढेर बजार चलयमान हुन सक्ने सम्भावना रहेको गजुरेलको तर्क छ। ‘बजार ठूलो मुभमेन्ट आउन समय लागे पनि सानोतिनो बाउन्सको सम्भावना भने सधैँ रहेको छ’, उनले भने, ‘तर, अब सेयर बेच्ने समय पनि छैन।’

माघ महिनापछि भने बजारमा बढोत्तरीको आश गर्न सकिने गजुरेलको तर्क छ।