– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यसपालि धेरैको दसैँ पोहोरको भन्दा भिन्न हुनेछ। पोहोर कोभिडका कारणले राम्रोसँग दसैँ मनाउन नपाएकाहरु अहिले केही फरक अनुभूति पक्कै गर्ने छन्।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष प्रियराज रेग्मी पोहोरभन्दा यसपालि दसैँ मनाउन केही सहज हुने बताउँछन्। ‘म पनि १० वर्षपछि आफ्नै जन्मस्थलमा दसैँ मनाउने योजनामा छु’, उनी भन्छन्।

रेग्मी चीनको सीमानजिक उत्तरी गोरखाको एउटा रमणीय गाउँ मसेलमा दसैं मनाउने योजनामा छन्। ‘राजधानीको व्यस्त जीवन तथा तनावबाट मुक्त भएर आफू जन्मे–हुर्केको गाउँ–ठाउँमा आफन्त तथा साथीभाइसँग भेटघाट गरी दसैँ मनाउने योजना छ’, उनले भने, ‘गाउँमा दसैँ मनाउँदा छुट्टै अनुभूति हुने गर्छ।’ 

दसैँ समय र उमेरअनुसार फरकफरक हुने रेग्मीको अनुभव छ। ‘बाल्यकालमा ठूलाबाट अपेक्षा गरिन्थ्यो भने अब आफू ठुलो भएपछि अरुको अपेक्षा र इच्छा बुझ्ने कोसिस गर्नुपर्छ’ रेग्मी भन्छन्, ‘आफू बच्चा हुँदा के अपेक्षा हुन्थ्यो ? अब कसरी आफ्ना बच्चाको अपेक्षा पूरा गर्न सकिन्छ भन्ने सोच–विचार गर्नुपर्छ।’ 

अहिले धैरैले गाउँको परिवेश भुलेको रेग्मीको भनाइ छ। ‘बेला–मौकामा गाउँ जाँदा पुराना याद र अनुभूति ताजा हुन्छ’, उनले भने, ‘यसले  गाउँको महत्व अझै बढाउँछ।’

दसैँ खासगरी आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने एउटा अवसर पनि रहेको रेग्मीको विचार छ। 

रेग्मीले दसैँका अवसरमा आफन्त, इष्टमित्र, साथीभाइ, लगानीकर्ता तथा ग्राहकलाई दसैँको शुभकामना पनि व्यक्त गडरेका छन्। कोभिड संक्रमण अझै रहिरहेकोले सामजिक दूरी र स्वास्थ्य मापदण्ड अपनाएर दसैँ मनाउन उनले आग्रह गरेका छन्।