– अनन्त्य सुन्दर

काठमाण्डौ । हरेक घरको कोही न कोही नेपाली सदस्य अध्ययन, रोजगारलगायत अन्य थुप्रै कारणले विदेश पलायन भएका छन्। कोरोनाले गर्दा पनि यसपालि विदेशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनी महान चाड दसैँ मनाउन वञ्चित हुने भएका छन्।

ताप्लेजुङका सुवास अधिकारी विगत ५ वर्षदेखि मलेसियामा बस्दै आएका छन्। अधिकारी भन्छन्, ‘प्रदेशमा दसैँ आएको जस्तो नै हुँदैन। दसैँमा गाउँघरमा माहौल बेग्लै हुन्छ। आमा बुवाको साथमा नहुँदा निकै नै पिडा महसुस हुन्छ।’

चार वर्षदेखि दसैँ मनाउन नपाएका अधिकारी यसपालि पनि दसैँमा सधैँझैँ कम्पनीमा काम गरेर बित्ने बत्ताउँछन्। सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना दिँदै अधिकारी भन्छन्, ‘दसैँमा अरुको देखासिकी गरेर फौजुल खर्च नगरौँ। परिवारको साथमा हर्ष र उल्लासका साथ दसैँ मनाऔँ।’

ओखलढुंगाका खिलक बुढाथोकी नर्वेमा अध्ययनका लागि बस्दै आएका छन्। विगत ३ वर्षदेखि उनी नर्वेमा अध्ययनसँगै पार्टटाइम काम पनि गर्दै आएका छन्। विदेशमा नै साथीभाइसँग दसैँ मनाउने योजना भएका बुढाथोकी भन्छन्, ‘विदेशमा हुँदा चाडपर्वमा एकदमै परिवारको मिस हुन्छ। त्यसैले दसैँ नआइदिए हुन्थ्यो जस्तो लाग्छ। यसपालि पनि दसैँमा निधार खाली हुने भयो।’

बुढाथोकीले गत साल पनि नर्वेमा रहेका आफन्त भेटघाट र सामान्य टीका लगाएर मनाएका थिए। सेयर बजारका सक्रिय लगानीकर्ता बुढाथोकी भन्छन्, ‘दसैँमा अनावश्यक खर्च गर्नुको साटो सेयरमा लगानी गरे धेरै लाभ लिन सकिन्छ। अहिलेको दसैँको १–२ हजार दक्षिण सेयरमा लगानी गर्दा १० वर्षपछि त्यो दक्षिणाको सेयर बेच्दा परिवारले दसैँ भव्य तरिकाले मनाउन सकिन्छ।’

सिन्धुपाल्चोकका दावा रिन्जिन लामा विगत ८ वर्षदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरिया बस्दै आएका छन्। बौद्ध धर्म मान्ने लामाको यसपालि दसैँमा साथीभाइसँग भेटघाट गरेर दसैँ मनाउने योजना रहेको छ। लामा भन्छन्, ‘बौद्ध धर्मावलम्बी भए पनि दसैँमा हिन्दु धर्मावलम्बी नेपाली दाजुभाइसँग रमाइलो गर्ने योजना छ। बौद्ध धर्मावलम्बीको चाड ल्होसारमा हिन्दु साथीसँगै मनाउने गरेका छौँ।’ 

दसैँको शुभकामना दिँदै लामा भन्छन्, ‘नेपालीको दसैँमा अनावश्यक खर्च गर्ने चलन छ। दसैँमा चाहिने भन्दा बढी खर्च गर्नुभन्दा सेयर, जग्गामा लगाई गर्दा भविष्यमा राम्रो लाभ लिन सकिन्छ।’

काठमाण्डौका अनुप कुमार श्रेष्ठ वैदेशिक रोजगारीको सिलसिलामा अहिले जापानमा छन्। श्रेष्ठ भन्छन्, ‘पोहोर साल कोरोनाले गर्दा कतै जन पाइएन। यसपालिको दसैँमा भने घुम्न जाने योजना रहेको छ।’ दसैँको शुभकामना दिँदै श्रेष्ठ भन्छन्, ‘यसपालिको दसैँमा कोरोनाको जोखिम उच्च छ। त्यसैले दसैँ मनाउँदा भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर मनाउनु होला।’