– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गाउँघरमा दसैँको आगमनसँगै राजधानीबाट आफ्नो गाउँठाउँ फर्किने क्रम पनि बढ्दै गएको छ। गाउँघरमा दसैँको चहलपहल निकै बढेको छ। खेतको आली–आलीमा धान झुलेको छ। बर्खाको हिलोसँगै पारिलो घामले पनि चाडपर्व आएको महसुस भएको छ। 

प्रदेशबाट लाहुरेहरु आउने क्रम पनि दिनदिनै बढेको छ। लिंगेपिङ र लठ्ठेपिङ बनाउने सुरसारमा देखिन्छन्, गाउँका तन्नेरीहरु। परदेशबाट आउनमात्रै नभएर कामविशेषले राजधानी तथा देशका ठूला सहर छिरेकाहरु पनि यसपालि गाउँघरमै उल्लाहसपूर्ण रुपमा दसैं मनाउने तरखरमा देखिन्छन्। 

गत वर्ष कोभिड–१९ ले दसैँ मनाउन असजिलो अवस्था थियो। यो वर्ष धेरैले खोप लगाएका तथा कोभिडको प्रभाव पनि कम हुँदै गएपछि धेरैको योजना यसपालि गाउँघरमै दसैँ मनाउने देखिन्छ। 

नेपाल ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली पनि यसपालि सपरिवार दसैँ मनाउन राजधानीबाट घर जाँदैछन्। गत वर्ष कोभिडले राम्रोसँग दसैँ मनाउन नपाएका मैनाली यसपालि झापाको बिर्तामोडस्थित घरमा सपरिवार दसैँ मनाउने योजनामा छन्। यो दसैँमा अलि बढी गतिविधि बढ्ने आँकलन मैनालीको छ। 

यसपालि अन्य घुमघाम गरी दसैँ मनाउनेभन्दा पनि घरपरिवारसँगै बसेर मनाउने योजना बनाएको मैनाली बताउँछन्। ‘किनकि माहोल अझै राम्रो बनिसकेको छैन’, उनी भन्छन्।

यसपालि मामाघरका हजुरबुवासँग टीका थाप्ने योजना पनि मैनालीको छ। ‘मामाघरको हजुरबुवा ८४ वर्षको हुनुहुन्छ, उहाँको हातबाट टीका लगाउन र आशीर्वाद लिने इच्छा छ’, उनी भन्छन्। 

पोहोरको दसैँमा मैनाली काठमाण्डौमा हुँदा भगवतीको मन्दिरमा गएका थिए। ‘यसपालि झापामै रहेको भगवतीको मन्दिरमा दर्शन गर्न जानेछु’, उनी भन्छन्। 

दसैँ खासगरी भेटघाट पनि भएकोले साथीभाइलगायत इष्टमित्रसँग भेटघाट हुने मैनाली बताउँछन्। ‘भेटघाटसँगै खानपिने त भइहाल्छ नि’, उनले भने। 

मैनालीका आफन्त र इष्टमित्र सबै झापामा छन्। त्यसैले पनि उनी दसैँ आफ्नै गाउँठाउँमै मनाउन चाहन्छन्। 

मैनालीले नियामक निकाय, सीडीएससी, सेवाग्राह, आफन्त, साथीभाइ तथा देशविदेशमा रहेका सम्रग नेपाली दाजुभाइ र लगानीकर्तालाई दसैँ शुभकामना दिएका छन्। यसका साथै सामाजिक दूरी कायम गरेर दसैँ मनाउन उनले सबैलाई आग्रह पनि गरेका छन्। 

दसैँलगत्तै कार्यालय सञ्चालनका लागि काठमाण्डौ फर्किने मैनाली बताउँछन्।