काठमाण्डौ । दाङको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा स्थायी हवाई इन्धन डिपो निर्माण गरिने भएको छ।

नेपाल आयल निगमन त्यहाँ हवाई इन्धन डिपो निर्माण गर्न लागेको हो। यसका लागि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको नेतृत्वको प्राविधिकको टोलीले हिजो सोमबार डिपो निर्माणस्थल विमानस्थल प्रवेश गर्ने मुख्य गेटको दक्षिणतर्फ रहेको जग्गाको नापजाँचसमेत गरेको छ। 

कार्यकारी निर्देशक पौडेले डिपो निर्माणको काम अबको दुई सातापछि सुरु हुने जानकारी दिए। उनका अनुसार डिपो निर्माणका लागि जमिन फिलिङ, कंक्रिट बनाउने र निगमको कार्यालय भवन, ट्यांक तथा बाउजर मेसिन राख्न पार्किङको काम गरिनेछ।

डिपो स्थापनाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यहाँ ७ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउने मौखिक सहमति जनाएको छ। प्राधिकरणको सहमति निगमले डिपो निर्माणको काम सुरु गर्न लागेको पौडेलले जानकारी दिए। 

यो डिपो आउँदो वैशाख १ गते उद्घाटन गर्ने लक्ष्य राखिएको छ। सोहीअनुसार निर्माणकार्य द्रुतगतिमा अगाडि बढाइने पौडेलको भनाइ छ।

पौडेलका अनुसार डिपो सञ्चालन गर्न निगमले ५ करोड र तुलसीपुर उपमहानगरपालिकाले १ करोड खर्च गर्ने सहमति भएको छ। 

डिपोमा १ महिनासम्म जहाजहरुका लागि तेल पुग्ने गरी ३० केएलका दुईवटा अन्डरग्राउन्डेड ट्यांक निर्माण गरिने निगमले जनाएको छ। उक्त विमानस्थलबाट दैनिक ३ वटा जहाजले उडान भर्छन्। 

टरिगाउँ विमानस्थल २०११ सालमा स्थापना भएको हो। लामो समयदेखि यो विमानस्थलमा हवाई इन्धन डिपो स्थापनाका लागि तुलसीपुर उपमहानगरले पहल गर्दै आएको थियो।