काठमाण्डौ । अर्थमन्त्रालयले कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गर्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । 

अर्थमन्त्री विष्णु पौडेल समेतको सहभागितामा आज अर्थमन्त्रालयमा भएको बैठकले गरेको निर्णयअनुसार बीमा समितिलार्य मन्त्रालयले ३ दिनभित्र कोरोना दाबी भुक्तानीको व्यवस्था मिलाउन समितिलाई लिखित निर्देशन दिएको हो । 

पछिल्लो समय कोरोना दाबी भुक्तानीमा ढिलाई भइरहेको, बीमा मापदण्ड बमोजिमको प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी पनि अड्काइएको, बीमा समितिको हटलाइन फोन सेवा संचालन भएको नपाइएको तथा अन्य निर्णय समेत प्रभावकारी कार्यान्वयन भएको नपाइएको भन्दै अर्थले यस्तो निर्देशन दिएको हो । 

निर्देशनअनुसार बीमा समिति र विभिन्न निर्जीवन बीमा कम्पनीहरुले मापदण्ड पूरा गरी परेका दाबीहरुको भुक्तानी ३ दिनभित्र गर्ने व्यवस्था मिलाई सोको विषयमा दैनिक रुपमा जानकारी पठाउनुपर्नेछ । 

यस्तै, भेरिफिकेसन गर्न बाँकी दाबीको भेरिफिकेसन यथाशीघ्र सम्पन्न गरी  भुक्तानी दिने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।  

कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेण्डिंग रहेको छ ?सोको विवरण र समस्या समाधानका लागि समितिबाट के प्रयास भइरहेको छ ? मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषयहरु के के हुन् ? यसको विस्तृत विवरण पनि मन्त्रालयमा पठाउन भनिएको छ । 

यस्तै, बीमा समिति तथा निर्जीवन बीमा कम्पनीहरुले अब नियमित रुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरिफिकेसनका लागि स्वास्थ्य सेवा विभागमा पठाइएको संख्या, भेरिफिकेसन नभएका वा नक्कली दाबीको विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकीको विवरण समेत सार्वजनिक गर्नुपर्ने भएको छ ।