काठमाण्डौ । धितोपत्र कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज कारोबार रकम भने हिजोको तुलनामा थोरै घटेको छ।

आज नेप्से १६.०४ अंकले बढेर २४४०.८७ को विन्दुमा उक्लिएको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु पनि हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.२४ अंकले घटेर ४५१.८२ को विन्दुमा झरेको छ।

आज बजारमा झन्डै ९ अर्बको हाराहारीमा सेयर किनबेच भएको छ। यो हिजोको तुलनामा ५० करोडको हाराहारीमा कम हो। हिजो कारोबार रकम ९ अर्ब ३७ करोड बढी थियो। जुन हालसम्मकै उच्च पनि हो।

हिजो र आजको परिसूचक बढोत्तरी हेर्दा बजारमा दीगोपन देखिएको विश्लेषकहरु बताउँछन्। ‘सामान्य रुपमा अघिल्लो दिन बजार ५० अंकले बढ्दा भोलिपल्ट सामान्य करेक्सन आउने गरेको थियो तर आज बजार बढ्यो’, विश्लेषक प्रकाश न्यौपाने भन्छन्, ‘यस अब बजारमा दीगोपन देखिन्छ।’

न्यौपानेले बजारमा तत्काल ठूलो करेक्सनको सम्भावना नदेखिएको दाबी गर्छन्। ‘१०–१२ अंकको करेक्सन अब सामान्य मान्नुपर्छ’, उनी भन्छन्, ‘अब बजार ३००० को विन्दुमा पुगेपछि मात्र ठूलो करेक्सन आउने अहिलेको माहौलले देखाउँछ।’

ब्याजदर घट्नु, अर्थमन्त्री बजारप्रति सकारात्मक हुनुका साथै देशभर सेयर बजारप्रति माहौल सिर्जना हुनु र लगानीकर्ताहरु पनि अहिले सेयर बजारमै आकर्षित हुनुले पनि बजार बढ्नमा टेवा पुगिरहेको न्यौपानेको तर्क छ। ‘अहिले लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै बजारमै पैसा घुमाइरहेका छन्, सेयर बजारको पैसा अन्यत्र गएको छैन, यहीँ घुमिरहेको छ’, उनले भने, ‘यो सेयर बजारका लागि सकारात्मक पक्ष हो।’

बजारमा अझै ठूलो करेक्सन नआउनेमा अन्य सक्रिय लगानीकर्ताहरुको मत पनि एउटै देखिन्छ। तीमध्येका एक मेघनाथ निरौला अब बैंकिङ सेक्टर सोचेअनुरुप नबढिसकेकोले तत्काल ठूलो करेक्सनको सम्भावना नरहेको तर्क गर्छन्। उनले भने, ‘ठूला लगानीकर्ताहरुले ठूलो मात्रामा सेयर धितो कर्जा लिएकोले सेयर कर्नरिङ हुँदै गएको छ र विस्तारै बजारमा सेयरको आपूर्ति कम हुँदै गएर माग बढ्दै जाँदा सेयर बजार बढेको हो।’  

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ७ वटामा रातो पोतिएको छ।

यो दिन व्यापार समूहम सबैभन्दा बढी ९०.७७ अंकले उकालो लागेको छ। निर्जीवन बीमा समूह ७९.३४ अंकले बढेको आज अन्य समूहमा ३१.६ अंक, बैंकिङ समूहमा २४.२२ अंक र म्युचुअल फन्ड समूहमा ०.०५ अंकको बढोत्तरी भएको छ।

आज जीवन बीमा समूह सबैभन्दा बढी ८८.५८ अंकले ओरालो लागेको छ। लघुवित्त समूह ४९.६ अंकले घटेको यो दिन होेटेल्स् समूहमा २४.०७ अंक, विकास बैंक समूहमा २०.७७ अंक, जलविद्युत् समूहमा ३.५६ अंक, वित्त समूहमा ६.७८ अंक र उत्पादन तथा प्रशोधन समूहमा १७.९१ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँमा कारोबार भएको छ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ६० करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३३ करोड १७ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनसीसी बैंकको ३१ करोड ३५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २९ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंकको २८ करोड ६० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ७ लाख रुपैयाँ, कुमारी बैंकको २२ करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९ करोड ४२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १७ करोड ५५ लाख रुपैयाँ र नेको इन्सुरेन्सको १७ करोड ३२ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। नागरिक लगानी कोषको सेयरमूल्यमा १० प्रतिशत तथा गुराँस लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेसनल हाइड्रोपावर र हिमालयन पावर पाटर्नरको सेयरमूल्य पनि ९ प्रतिशत तथा गोर्खाज फाइनान्सको सेयरमूल्य ९ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्।

यो दिन श्री इन्भेस्टमेन्ट फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।