काठमाण्डौ । अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारको प्रभावकारी कामका कारण त्यहाँ आगो झै फैलिएको कोरोना संक्रमण तीव्र रुपमा घट्न थालेको छ । 

दिल्लीमा कोरोना संक्रमण दरमा चमात्कारिक गिरावट आइरहेको बेला मृत्युको संख्या भने घट्न सकेको छैन, जसलाई भारतका जनस्वास्थ्यविदहरुले चिन्ताको विषय मानेका छन् । 

भारतीय न्यूज एजेन्सीहरुका अनुसार दिल्लीमा कोरोना संक्रमणको दर घटेर ७ प्रतिशतमा सीमित बन्न पुगेको छ । मंगलबारसम्मको कोरोना संक्रमणदर ६.९८ प्रतिशत मात्र छ । 

गत २४ घण्टामा दिल्लीमा ४ हजार ४८२ कोरोना संक्रमित थपिएका छन् । यस्तै, यो अवधिमा २६५ संक्रमितले ज्यान गुमाएका छन् । राष्ट्रिय राजधानी दिल्लीमा ६५ हजार ४ नमूनाको परीक्षण गर्दा ४ हजार ४८२ मा मात्र संक्रमण पुष्टि भएको हो । 

दिल्लीमा मंगलबार ९ हजार ४०३ संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै अब दिल्लीमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५० हजार ८६३ मा सीमित बन्न पुगेको छ । आइसोलेसनमा रहनेको संख्या ३१ हजार १९७ रहेको छ । 

संक्रमणदर ७ प्रतिशतभन्दा तल खस्नुलाई ‘राहातको खबर’ भनिएको छ । 

यस्तै, दिल्लीमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि घटिरहेको छ । समाचारमा उल्लेख गरिएअनुसार सक्रिय संक्रमित दर घटेर ३.६२ प्रतिशतमा सीमित बनेको छ । ८ अप्रीलपछि यो नै सबैभन्दा न्यून दर हो । 

निको हुने दरमा पनि निकै ठूलो अन्तर आएको छ । निको हुने दर बढेर ९४.७९ प्रतिशत पुगेको छ । ८ अप्रीलमा यस्तो रेट ९५ प्रतिशत थियो । 

दिल्लीमा कोरोनाबाट मृत्यु हुनेको दर १.५८ प्रतिशत रहेको छ । 

-एजेन्सीहरुको सहयोगमा