काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेसँगै अहिले नेपालमा तरंग पैदा भएको छ । अख्तियारको सो कदमको बिषयमा अनेकन टिकाटिप्पणी भइरहेको बेला अख्तियारले चाहि अन्य ठूला माछा समेत पक्राउ गर्ने तयारी भइरहेको सूचना चुहिएको छ । अख्तियारले भनेको ठूलो माछाको अबको लाइनमा को होला ? यस विषयमा बिजशालाले गोप्य सूचना फेला पारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबको आफ्नो टार्गेट एमाओवादी नेता कृष्णबहादुर महरालाई बनाएको छ । अख्तियारले महरालाई फन्दामा पार्ने तयारी गरिरहेको सूचना बालुवाटारदेखि एमाओवादी हेडक्वार्टरसम्म पुगेपछि भित्रभित्रै हंगामा भइरहेको छ । 

कृष्णबहादुर महरालाई ठूलो माछाको रुपमा जालमा पार्ने अख्तियारको तयारी तीव्र भइरहेको सूचना एमाओवादीका शीर्ष नेतामाझ पुगेपछि खैलाबैला मच्चिएको माओवादी स्रोतले जनाएको छ । प्रचण्डको विशेष प्रस्ताव र भारतीय गुप्तचर संस्था ‘रअ’को चाहनामा अख्तियार प्रमुख बनाइएका लोकमानसिंह कार्कीले एमाओवादीकै नेतालाई अर्को माछाको रुपमा जालमा पार्ने ताक हेरेपछि जसरी पनि यो कारबाहीलाई रोक्ने प्रयासमा अध्यक्ष प्रचण्ड र स्वयम् महरा समेत लागिपरेका छन् । 

एमाओवादी स्रोतका अनुसार लोकमानले ठूलो माछाको रुपमा आफूलाई पक्रने तयारी गरेका सूईँको पाएपछि एमाओवादी नेता महरा बैशाख ८ गते सुटुक्क दिल्ली गएका छन् । उनले दिल्ली पुगेर साउथ ब्लकदेखि विभिन्न एजेन्सी तथा शक्तिकेन्द्रका प्रतिनिधिलाई भेटी आफूलाई संभावित कारबाहीबाट जोगाइदिन अनुनय गरेका थिए । 

अख्तियार स्रोतका अनुसार महराविरुद्धको छानबिन अन्तिम चरणमा पुगेको छ । महराविरुद्ध भ्रष्टाचार आरोपमा केही सातामै विशेष अदालतमा मुद्धा हाल्ने तयारी भइरहेको अख्तियारकै कर्मचारीबाट लिक भएपछि हतार–हतार महरा दिल्ली पुगेका हुन् ।

उच्च स्रोतका अनुसार नेता महरा बैशाख ८ गते बिहान ११ बजे जेट बिमानको उडानबाट दिल्ली पुगेका थिए । उनले भारतका उच्चपदस्थ अधिकारीहरुसँग आफूलाई जोगाइदिने अनुनयसँगै नेपालमा सरकार परिवर्तनको बिषयमा समेत छलफल गरेको स्रोतको भनार्ई छ । भारत अनुकुल सरकार बनाउन सहयोग गर्ने ललीपप देखाएर महराले भारतीय शक्तिकेन्द्रको मन जित्ने र त्यसको आडमा लोकमानसिंहलाई रोक्ने रणनीति रहेको छ । तर यो रणनीति सहजै सफल हुने संभावना भने देखिन्न । 

एमाओवादी नेता महरा एमाओवादीमै पनि चीनसँग निकट नेता मानिन्छन । भारतलाई समेत यो विषयमा राम्रो ज्ञान छ । माओवादी अध्यक्ष प्रचण्डले कुनै बेला सात पटकसम्म हारेको प्रधानमन्त्रीको  निर्वाचन जिताउन महराले चिनियाँहरुसँग ५० करोड माग्दै गरेको अडियो नै सार्वजनिक भएको थियो । त्यो अडियो भारतीय गुप्तचरहरुको अगुवाईमै काठमाण्डौमा सार्वजनिक गरिएको स्रोतहरुको दाबी छ । अडियो काण्डपछि चिनिया संस्थापन पक्षको विशेष दूत महरा रहेको भारतीय पक्षको बुझाई छ । यही बुझाई कारण पनि अख्तियारको अबको ठूलो माछाको रुपमा महरा जालमा पर्नसक्ने प्रवल संभावना रहेको स्रोतहरुको दाबी छ ।