काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से)मा उछाल आएसँगै कारोबार रकममा समेत नयाँ रेकर्ड बन्ने अवस्था देखिएको छ । 

बजारमा कारोबार सुरु भएको पहिलो २ घण्टाभित्र ४ अर्ब ३२ करोड बढीको सेयर कारोबारको नयाँ कीर्तिमान बनेको हो । हालसम्म नेपालको सेयर बजारमा कुनै पनि दिन कारोबार सुरु भएको २ घण्टाभित्रै यति ठूलो आकारमा सेयर कारोबार भएको थिएन । 

पहिलो २ घण्टाको कारोबारको गति पूरा अवधिभर कायम रहे आज कारोबार रकमले पनि नयाँ कीर्तिमान बनाउने आँकलन गर्न सकिन्छ ।

यो दिन नेप्से परिसूचकले अलटाइम हाई १८८१ को विन्दूलाई तोडेर १९०० माथिको यात्रा गरिरहेको छ । यसरी एकैदिन नेप्से परिसूचक र कारोबार रकमले समेत नयाँ कीर्तिमान बनाउने देखिएको छ । 

दिउँसो १ बजेसम्म नेप्सेमा ९० लाख ३६ हजार बढी कित्ता सेयर कारोबार भइसकेको छ। उछालको गतिमा रहेको नेप्से केही घटेर ३१ अंकको बढोत्तरीमा सीमित भएको छ भने बैंकिंग, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहको परिसूचकमा २ प्रतिशतभन्दा बढीको उछाल आएको छ । 

व्यापार, होटल, बित्त, निर्जीवन बिमा, जीवन बिमा र माइक्रोफाइनान्स समूह घट्न थालेका छन् । 

यो अवधिसम्म ४ कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । एनएमबी माइक्रोफाइनान्स, पाँचथर पावर, नवील बैंक, आँखुखोला जल्विद्युत कम्पनीको मूल्यमा सर्किट लागेको हो ।