काठमाण्डौ। छिमेकी मुलुक भारत र चीनमा कोरोना संक्रमणको मामिलामा आकाश–जमिनको फरक देखिएको छ।

बितेको २४ घन्टामा कोरोनाको उद्गमस्थल मानिएको चीनमा केवल ११ जनामा संक्रमण पुष्टि भएको छ भने भारतमा ३७ हजारभन्दा बढीमा कोरोना देखिएको छ। 

चीनको स्वास्थ्य आयोगका अनुसार नयाँ ११ मामिलामा ८ मामिला शिन्जियाङ प्रान्तका छन्। जसमा ३ जना बाहिरबाट आएकामा कोरोना पुष्टि भएको छ। 

पछिल्लो समय चीनमा कोरोना संक्रमणको मामिला अन्य देशको तुलनामा नगण्य रुपमा रहेको छ। हालसम्म चीनमा ८५ हजार ३४१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ हजार ६४४ जनाको मृत्यु भइसकेको छ। 

उता भारतमा पछिल्लो २४ घन्टामा ३७ हजार १४८ जनामा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कुल संक्रमितको संख्या ११ लाख ५५ हजार बढी भएको छ। 

बितेको २४ घन्टामा भारतमा ५८७ जनाको ज्यान गएको छ। योसँगै ज्यान गुमाउनेको संख्या २८ हजारभन्दा बढी पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। – एजेन्सी