काठमाण्डौ । पछिल्लो दुई दिनमा अमेरिकी डलरको विनियम दर झन्डै ३ सुकाले घटेको छ। 

हिजो आइतबार र आज सोमबार गरी प्रतिडलर विनिमय दर ७३ पैसाले घटेको हो। 

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तय गरेको विदेशी मुद्राको विनियम दरअनुसार १ डलरको खरिददर ११७.७१ रुपैयाँ र बिक्रीदर ११८.३१ रुपैयाँ कायम गरेको छ। हिजो आइतबार १ डलरको खरिददर ११७.९८ र बिक्रीदर ११८.५८ रुपैयाँ रहेको थियो। यो हिसाबले आइतबार तुलनामा सोमबार डलरको विनिमय दरमा २७ पैसाको गिरावट आएको छ भने शुक्रबारको तुलनामा ७३ पैसाको गिरावट आइसकेको छ। 

राष्ट्रबैंकले गत शुक्रबार डलरको खदिदर प्रतिडलर ११८.४४ रुपैयाँ र बिक्रीदर प्रतिडलर ११९.०४ रुपैयाँ तोकेको थियो। जुन नेपालकै इतिहासमा अहिलेसम्मकै दोस्रो उच्च विनिमय दर हो। 

यसअघि सन् २०१८ अक्टोबर १० तारिखमा नेपालमा अमेरिकी डलरको खरिददर प्रतिडलर ११८.७३ र बिक्रीदर प्रतिडलर ११९.३३ रुपैयाँ कायम भएको थियो। यो विनिमय दर नै अहिलेसम्मको उच्च हो। 

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेपछि विश्व अर्थतन्त्रमा व्यापक असर परेको छ। अमेरिकाले पनि आफ्नो देशमा आपतकालीन अवस्था घोषणा गरिसकेको छ। यसले गर्दा पनि डलरको भाउमा गिरावट आउन थालेको अर्थविद्हरु बताउँछन् ।