काठमाण्डौ । दुईवटा बैंकले ऋणपत्र ल्याउने भएका छन्।

कुमारी बैंक र लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउने भएका हुन्। दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका हुन्।

सेबोनले अनुमति दिएमा कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘केएलबी डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्नेछ। 

यो ऋणपत्रको कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। 

यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। 

कुमारी बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

यसैगरी सेबोनको अनुमछिपछि लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘एलएलबी डिबेन्चर–२०८९’ नामक ऋणपत्र निष्कासन गर्नेछ। 

यो ऋणपत्रको कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। 

यो पनि १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत नै ब्याज पाउनेछन्। 

लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।