काठमाण्डौ । दुई वाणिज्य बैंकले कुल साढे ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएका छन्। 

एभरेष्ट बैंक र एनएमबि बैंक लिमिटेड ऋणपत्र निष्कासन गर्ने भएका हुन्। यी दुवै बैंकले ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएका छन्।

एभरेष्ट बैंकले ‘८.५ प्रतिशत एभरेष्ट बैंक डिबेन्चर’ नामक २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। बैंकले १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र बिक्री गर्नेछ। 

कुल इकाइमध्ये बैंकले १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइ सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नेछ। 

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। 

एभरेष्ट बैंकको यो ऋणपत्र आठवर्षे अवधिको हुनेछ। यो ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक ८.५ प्रतिशत ब्याज पाउने छन्। 

यसैगरी एनएमबि बैंकले ‘४ प्रतिशत एनएमबि इनर्जी बन्ड’ नामक कुल ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नेछ। बैंकले १ हजार अंकित दरका कुल ३५ लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइ सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ।

एनएमबि बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। १५ वर्षे यो ऋणपत्रमा लगानीकर्ताले ४ प्रतिशत ब्याज पाउनेछन्।