काठमाण्डौ । चार दिनका लागि खुल्ला गरिएको नाडा अटो शो २०२२ को स्टल रजिष्ट्रेसन २ दिनमै सकिएको छ । 

कोभिड १९ को संक्रमणका कारण दुई वर्ष रोकिएर आगामी भदौमा हुन लागेको नाडा अटो शोमा अटोमोवाइलसँग सम्बद्ध कम्पनीहरुको अचाक्ली आकर्षणका कारण ४ दिनका लागि खोलिएको रजिष्ट्रेसन दुई दिनमै सकिएको हो । 

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले यो वर्षको नाडा अटो शो आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्दैछ । त्यसका लागि स्टल बुकिङको रजिष्ट्रेसन खुल्ला गरिएको थियो । 

बिहीबार(असार २ गते) स्टलका लागि आवेदन दिएका कम्पनीहरुमाझ गोलप्रथा गरिएको थियो । सोही आधारमा कम्पनीहरुलाई स्टलको छनौट र बाँडफाँड गरिएको नाडाले जानकारी दिएको छ । 

विगतका संस्करणहरुभन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ । 

नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालकाअनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवम् नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्यजस्तो भइसकेको छ।

अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरुका विज्ञ एवम् जानकारहरुसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि उनले जानकारी दिए ।