काठमाण्डौ । शुक्रबार धनगढीमा देशको चौथो कोरोना संक्रमित फेला परेका छन् । 

दुबईबाट केही दिनअघि स्वदेश आएका धनगढीका ३२ वर्षीय युवाको स्वाब परीक्षण गर्दा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको थियो । 

पहिलो, दोश्रो र तेश्रा संक्रमित झै विदेशबाट स्वदेश आएका धनगढीका ती युवामा समेत कोरोना संक्रमण पुष्टि भएसँगै उनको यात्रा इतिहास र सो क्रममा उनले भेटेका संभावित मानिसहरुको खोजीमा सरकार लागेको छ । यो क्रममा स्थानीय प्रहरीलाई समेत परिचालन गरी उनको यात्रा इतिहास, सो क्रममा उनले भेटेका मानिसहरु, उनका आफन्तजन, साथीभाई तथा छरछिमेक खोजबिनको काम सुरु भइसकेको छ । 

सो क्रममा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका ती युवाले चिकित्सकहरुमार्फत प्रहरीलाई आफ्नो यात्रा इतिहास भनेका छन् । 

धनगढी प्रहरीका अनुसार उनी दुबईबाट भारतको नयाँदिल्ली हुँदै चैत ७ गते काठमाण्डौ आइपुगेका थिए । 

त्यसको भोलिपल्ट चैत ८ गते उनी बुद्ध एयरको जहाजबाट नेपालगञ्ज अवतरण भएका थिए । त्यहाँबाट माइक्रोबसमा धनगढी पुगेका उनले बिरामी हुनुअघि आफन्त, गाउँघरका साथीभाई तथा छरछिमेक समेत भेटेका थिए । 

विदेशबाट गएपछि उनी २ दिन धनगढी उपमहानगरपालिका वडानम्बर ५ स्थित घरमा बसेका थिए । १० गते उनी रुघाखोकी र ज्वरोले ग्रस्त पारेको भन्दै आफैं अस्पताल पुगेका थिए । 

अस्पतालले कोरोना संक्रमणको आशंका गरी उनको स्वाब टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाएको थियो । शुक्रबार त्यसको रिपोर्ट आउँदा उनमा संक्रमण पुष्टि भएको हो । 

प्रहरीले दुबईबाट नयाँ दिल्ली हुँदै काठमाण्डौ अवतरण हुँदा उनीसँगै आएका नेपाली वा नेपालमै बसोबास गर्ने विदेशी, नेपालगञ्ज जाने बुद्ध एयरका यात्रु, त्यहाँबाट माइक्रोमा सँगै यात्रा गर्ने यात्रीहरुको समेत खोजी सुरु गरेको छ । उनीहरुमा समेत कोरोना संक्रमण हुनसक्ने आशंका चिकित्सकहरुले व्यक्त गरिरहेका छन् । 

ती युवाका आफन्त तथा परिवारका सदस्यमध्ये शुक्रबार साँझसम्म कसैलाई पनि आइसोलेसनमा राखिएको छैन । स्वास्थ्य मन्त्रालयले प्रदेश सरकार र स्थानीय प्रशासनलाई ती युवाको परिवारलाई समेत आइसोलेसनमा राखी स्वास्थ्य जाँच गर्न निर्देशन दिइसकेको छ ।