काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरण नेपालको टेलिकम क्षेत्रको नियमन र विकासका लागि नेतृत्व गर्ने सरकारी निकाय हो । जसको प्रमुखका लागि दौडधूप सुरु भइसकेको छ । दूरसञ्चार क्षेत्रमा उल्लेख्य सुधारको सुरुवात गरिसकेका व्यक्तिलाई ल्याउन नदिई स्वार्थ पूर्ति गराउने व्यक्ति ल्याउन विभिन्न शक्ति केन्द्रहरुमा प्रयासहरु भइरहेका छन् । 

खासगरी लामो समय प्राधिकरणमा प्रमुखको रुपमा महत्वपूर्ण काम गरेका दीगम्बर झा पनि प्रतिस्पर्धी भएपछि प्राधिकरणभित्रकै केही अधिकारी तथा दूरसञ्चार माफियाको निन्द्रा खोसिएको छ । उनलाई अयोग्य प्रमाणित गर्नका लागि विभिन्न तानाबुना बुन्ने क्रम सुरु भएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् ।  प्राधिकरणको अध्यक्षका लागि झा, पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणकै बरिष्ठ निर्देशक पुरुषोत्तम खनालको सिफारिस भएको छ । 

लामो समय सरकारी सेवामा रहेका झाले प्राधिकरणको नेतृत्व लिएर एउटा निम्सरो संस्थालाई बलियो संस्थाका रुपमा स्थापित गरेका त्यहाँका कर्मचारी बताउँछन् । आम जनतासँग जोडिएको दूरसञ्चार सेवालाई जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेले । उनले दूरसञ्चार सेवा प्रदायकलाई नियमन गर्दै जनतालाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम अघि बढाए । जसका कारण अहिले प्राधिकरणको प्रतिष्ठा र भूमिका सर्वत्र प्रशंसाको  विषय बनेको भन्दै एक पक्षले उनलाई नै दोहोर्याउनुपर्नेमा जोड गरिरहेको छ । 

प्राधिकरणको अध्यक्ष रहेका झाको नियुक्ति निर्वाचन आचारसंहिताका कारण वर्तमान सरकारले खारेज गरेको थियो । उनलाई कुनै पनि असक्षमता तथा कारवाहीका आधारमा हटाइएको थिएन । त्यसअघिका तीन वर्षमा उनले दूरसञ्चार सेवालाई आम जनताको पहुँचसम्म पुर्याउने काम गरेका थिए । 

ब्रोड ब्याण्ड इन्टरनेट भित्र्याए । नेपालका लागि सूचना प्रविधि(आइटीसी) नीति पारित गराए । भूँइचालो गएको बेला टेलिकम सेवालाई चुस्त राख्नका लागि नेतृत्व गरे । भूकम्पमा फसेका तथा घाइते भएकाहरुको उद्धार उपचारका लागि आइटीयूसँग मिलेर स्याटलाइट तथा इन्टरनेट फोनमार्फत उद्धारलाई प्रभावकारी बनाएको जश समेत झालाई जाने गरेको छ । 

झाले यसबीचमा नेपालका लागि महत्वपूर्ण सूचना महामार्ग (इन्फरमेशन सुपर हाइवे)को अवधारणा पनि अघि सारे । मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टीकल फाइबर केबल हुने र त्यसलाई हरेक जिल्ला सदरमुकासंग जोड्ने उनको योजना अनुसारको काम अघि बढिरहेको छ । त्यस्तै, उत्तर दक्षिण राजमार्गमा जोड्ने तथा सबै जिल्ला सदरमुकाम र नगरपालिका पनि जोड्ने सपनाकासाथ काम अघि बढाएका छन् । यसका लागि नेपालका तीन ठूला सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट सेललाई ठेक्का समेत दिइसकेका छन् । यी काम सम्पन्न हुँदा नेपालमा इन्टरनेट पहुँचमा ऐतिहासिक काम हुनेछ । 

त्यस्तै,  ब्रोडव्याण्ड (तीब्र गतिको इन्टरनेट)मा सबैको पहुँच पुर्याउन ७७ जिल्लालाई १८ वटा प्याकेजमा बाँडेर काम अघि बढाएका छन् । तीमध्ये भूकम्प प्रभावित ११ जिल्लामा काम सकिइसकेको छ । सबै सबै वडा कार्यालय, गाउँपालिका तथा नगरपालिका तथा सबै स्वास्थ्यकेन्द्र र सामुदायिक तथा उच्च माध्यमिक विद्यालयमा दुई वर्षसम्म निःशुल्क ब्रोडब्याण्ड उपलब्ध गराउने महत्वकांक्षी परियोजनासमेत झाले अघि बढाएका छन् । ग्रामीण भेगमा समेत जनताको चाहनाअनुसार, काठमाडौंकै मूल्यमा उपलब्ध गराउने घोषणा उनले यसअघि नै गरिसकेका छन् । 

उनकै पालामा दूरसञ्चार सेवा प्रदायकहरुलाई फोरजी उपलब्ध गराएर सेवासमेत सुरु गराएका हुन् । उनले पछिल्लो पटक सेवा प्रदायक निकायहरुले एउटा टावर प्रयोग गर्ने अवधारणा (इनफा सेयरिंग)मा समेत काम गरिरहेका थिए । एउटै टावर दूरसञ्चार सेवा प्रदायक सबैले प्रयोग गरे ३० प्रतिशतसम्म सस्तो पर्ने निश्कर्षका आधारमा काम अघि बढाएका थिए । सो प्रक्रिया हाल मन्त्रालय पुगेको छ । 

उनले इन्टरनेशनल व्याण्डविथको मूल्यसमेत ४५ डलरभन्दा माथिबाट घटाएर १० डलरमा झारेका छन् । यसले सर्वसाधारणलाई सस्तो दरमा तीब्र गतिको इन्टरनेट उपलब्ध भएको छ । 

डिजीटल नेपालको अवधारणा अघि बढाउन डिजिटल लिटरेशीको काम पनि अघि बढेको छ । विशेष ठाउँहरुमा निशुल्क वाइफाइको काम पनि अघि बढाएका छन् । 

विद्युत प्राधिकरणसँग मिलेर तार जमिनमुनि ओछ्याउने कामसमेत झाले अघि बढाएका थिए । भीओआइपी नियन्त्रणका लागि समेत पछिल्लो पुस्ताको प्रविधि ल्याउने प्रक्रिया अघि बढेको छ । 

झाले तीन वर्षको अवधिमा छ मन्त्रीसँग काम गरेका छन् । 'मैले संधै अप्ठ्यारो अवस्थामा पनि सहजताकासाथ काम गरेँ । म इमान्दार भएर सेवा गुर्छु । म टिम वर्कमा विश्वास गर्छु । हुने कामलाई जुलेवीजस्तो म घुमाउन्न ।'-झाले भने । 

नेपालले आफ्नै स्याटलाइट राख्नका लागि अर्बिटल स्लटसमेत झाकै पहलले पाएको छ । जसलाई अघि बढाउन विभिन्न अन्तर्राष्टिय कम्पनीले टेण्डरमा भाग लिएका छन् । 

सर्वसाधारणले ४५ सेकेण्डभन्दा कम कल गरे पनि ४५ सेकेण्डको शुल्क लाग्ने व्यवस्था हटाएर १० सेकेण्डको मात्रै लाग्ने व्यवस्था पनि उनले मिलाएका छन् । जसले फोन प्रयोगकर्ता सर्वसाधारणलाई ठूलो राहात मिलेको छ । साइबर सेक्युरिटीलाई समेत ध्यानमा राख्ने झाले आवश्यक नीति निर्माणका लागि प्रक्रिया अघि बढाइसकेका छन् । 

दूरसंचार प्राधिकरणमा झाले सर्वसाधारण प्रयोगर्ता तथा सेवा प्रदायक तथा राज्य सबैलाई फाइदा पुग्ने गरी काम अघि बढाएका छन् । 

व्यवस्थापन र अर्थशास्त्रका दक्ष झाले २० वर्ष सरकारी सेवा गरेका छन् । उनी यसअघि विश्व बैंक र एसीयाली विकास बैंकका लागि समेत परामर्शदाताका रुपमा काम गरेका थिए । प्राधिकरण प्रमुख हुनुअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक थिए । 

'झालाई अहिले पनि निगमको व्यवस्थापनमा उल्लेखनीय काम गरेको मूल्यांकन त्यहाँका कर्मचारीको छ ।' झा भन्छन्-'जहाँ जहाँ काम गरें इमानदारिता र परिणाममुखी कामलाई प्राथमिकता दिएँ ।' 

नेपालजस्तो ग्रामीण भूभाग भएको देशमा दूरसञ्चार सेवालाई जनताको जीवनस्तर र दैनिकीसँग जोड्न सकियो भने मात्रै सरकारले संकल्प गरेको समृद्ध नेपालको सपना साकार हुन सक्छ । त्यसैले, विश्वमा इन्टरनेटको पाँचौं पुस्ता परीक्षण भइसकेको अवस्थामा दूरसञ्चार क्षेत्रको नियामक संस्थाको नेतृत्व पनि अनुभवी, योजनाकर्ता तथा तीब्र निर्णय र नेतृत्व गर्न सक्ने क्षमताको हुन आवश्यक छ ।