काठमाण्डौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । 

सर्वोच्चले गठन गरेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै उनलाई ४८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । 

प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र, एमालेका माधव नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको सहयोग लिएर १४६ सांसदलगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई पनि बदर गरिदिएको छ।

यो आदेशसँगै प्रम ओलीले दोश्रो पटक विघटन गरेका संसद पुनःस्थापित भएको छ । 

यस्तै, सर्वोच्चले अबको ७ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन समेत आदेश दिएको छ ।