काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले कृष्णनगर नगरपालिका वडानम्बर ८ मा संचालित बहादुरगञ्ज शाखाको औपचारिक उद्घाटन गरेको छ । 

एक समारोहकाबीच सोमबार कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहबाट सो शाखा कार्यालयको औपचारिक उद्घाटन भएको हो । 

शाहले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग हातेमालो गरी स्थानीय स्रोत परिचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहने विश्वासका साथ बैंकको सफलताका लागि शुभकामना व्यक्त गरे ।

सो क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी नगदरहित कारोबारलाई बढाउन देवः भिसा कार्डको प्रयोग गर्दा ३ प्रतिशत क्यासब्याकको सुविधा उपलब्ध गराउन लागेको जानकारी दिए । साथै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक पर्यटनको प्रबद्र्धनका लागि सेवाग्राहीहरुलाई निःशुल्क भिसा डेविट कार्ड र ईबैंकिङ्ग सेवा उपलब्ध गराइने जानकारी समेत दिए ।

बैंकका संचालक समितिका सदस्य विजयराज शर्मा भुसालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका डि.एस.पि. सुशीलकुमार शाहीले पनि शुभकामना मन्तव्य दिएका थिए।