काठमाण्डौ । देवः विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६ लाख बढी खूद नाफा कमाएको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २३ लाख मात्र खूद नाफा कमाउन सक्यो ।

बैंकको संचालन नाफा समेत घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ७ करोड ९० लाख रहेको यस्तो नाफा घटेर समीक्षा अवधिमा ५ करोड ८ लाखमा सीमित बन्न पुुगेको छ । 

खूद ब्याज आम्दानी भने केही बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ११ करोड ७१ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर १२ करोड माथि पुुगेको छ । 

समीक्षा अवधिमा देवः विकास बैंकले ११ अर्ब ३५ करोड निक्षेप संकलन गरी १० अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७ अर्ब ९६ करोड निक्षेप संकलन गरी ६ अर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो । 

यो अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापन कोषमा निकै धेरै रकम राखेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४० लाख रुपैयाँ रहेको कोषमा समीक्षा अवधिमा ४ करोड १० लाख जम्मा गरिएको छ । 

चुक्तापुँजीमा ६४ प्रतिशतको प्रगति गरेको यो बैंकको रिजर्ब कोष समेत थप सशक्त बनेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको रिजर्ब कोषमा ३० करोड ८८ लाख रुपैयाँ रहेकोमा बढेर समीक्षा अवधिसम्म ५० करोड ८७ लाख जम्मा भएको छ । 

अघिल्लो वर्ष ३.४४ प्रतिशत रहेको खराब कर्जालाई घटाएर बैंकले १.७९ प्रतिशतमा सीमित गराएको छ । 

समीक्षा अवधिमा देवः विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ ९६ पैसामा सीमित बन्न पुुगेको छ । अघिल्लो वर्षको यही अवधिमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ १ पैसा थियो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.४५ गुणा कायम भएको छ ।