काठमाण्डौ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ। 

२०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो। यसैगरी २०७८ वैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४ हजार २९९ नयाँ लाइन वितरण गरिएको छ। 

नेपाल टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवामात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टीभी सेवासमेत उपलब्ध गराइरहेको छ। प्रारम्भमा काठमाण्डौ उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टीभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पका रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ। यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ।