काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेसनल १८ औँ वर्षमा प्रवेश गरेको छ। 

सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो। १७ वर्षको अवधिमा कम्पनी नेपालको ठूलो र अग्रणी आईटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ। कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ। 

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने ईन्टरनेट बैंकिङ, मोबाईल बैंकिङ, भाइबर बैंकिङ, फोनलोनजस्ता निकै रुचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ। यस्तै एफवान सफ्टले इसेवा र फोनपेजस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको छ। 

तीनजना युवाको परिकल्पनाबाट सुरु भएको एफवान सफ्ट गु्रपमा अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ।

१७ औँ वार्षिकोत्सवका अवसरमा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने, ‘एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर हामीले प्रविधि निर्माण गछौँ। हामीले डिजिटल नेपाल बनाएर देशको जीडीपीमा पनि ठूलो योगदान दिन सकौँ भन्ने उद्देश्य राखेका छौँ। यसका लागि आगामी दिनमा हामी अझ मिहिनेतका साथ लाग्नेछौँ।’ 

एफवान सफ्ट गु्रपअन्तर्गत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन्। एफवान सफ्ट गु्रपअन्तर्गत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक जस्ता लिडिङ कम्पनी सञ्चालित छन्। यी कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन्। 

नेपालका अधिकांश बैंंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन्। कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता नेपालमा एक करोड १० लाखभन्दा धेरै रहेका छन्। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ।