काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा देशको अर्थतन्त्र कस्तो रह्यो होला ? नेपाल राष्ट्रबैंकको अनुसन्धान विभागले यसको संक्षिप्त विश्लेषण गर्दै आफ्नो रिपोर्ट प्रकाशन गरेको छ । 

पहिलो त्रैमास अवधिमा वार्षिक विन्दूगत आधारमा  उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति बढेको छ । पहिलो २ महिनाको तुलनामा यस्तो मुद्रास्फिति बढेर ४.७ प्रतिशत पुगेको हो । 

चालु आबको पहिलो २ महिनामा यस्तो मुद्रास्फिति ३.९ प्रतिशत थियो । 

महंगीसँगै विप्रेषण आप्रवाह पनि बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको छ । चालु आबको पहिलो २ महिनाको तुलनामा विप्रेषण समेत बढेको देखिएको छ । 

समीक्षा अवधिमा आयातको वृद्धिदर अझै बढी ४३.६ प्रतिशत पुगेको छ । आयातको तुलनामा निर्यातको वृद्धिदर भने निकै कम अर्थात १६.१ प्रतिशत मात्र छ । यसले हामी अझै कुन हिसाबले आयातमुखी हुँदैछौ भन्ने देखाउँछ । 

पहिलो त्रैमाससम्म शोधानान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा छ भने सरकारको नगद प्रवाहमा आधारित कुल खर्च २३.१ प्रतिशतले र राजश्व संकलन ४३.४ प्रतिशतले बढेको छ । 

पहिलो त्रैमासमा समेत बैंक तथा बित्तीय संस्थाहरुले व्यवसाय असन्तुलित नै देखिएको छ । उनीहरुले यो अवधिमा २.४ प्रतिशतले निक्षेप बढाउँदा कर्जाबिस्तारमा भने ७.२ प्रतिशतको फड्को मारेका छन् । यो भनेको असन्तुलित चलाई हो । 

वार्षिक विन्दूगत आधारमा समीक्षा अवधिमा निक्षेपको वृद्धिदर १७.७ प्रतिशत हुँदा कर्जातर्फ भने २५.५ प्रतिशतको वृद्धि भएको देखिएको केन्द्रीय बैंकको अध्ययनमा उल्लेख छ ।