काठमाण्डौ । कोरोना संक्रमण हुनसक्ने बिरामीहरुको स्वास्थ्य जाँचमा सरकारले हदैसम्मको लापरबाही र बेवास्ता गर्ने गरेको देखिएको छ ।
बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा स्थापित बुटवलको कोरोना विशेष(अस्थायी) अस्पतालको आइसोलेसनमा राखिएका एक व्यक्तिको आइतबार बिहान मृत्यु भएपछि शंकास्पद कोरोनाका बिरामीहरुको स्वास्थ्य जाँचमा सरकारले गरेको हदैसम्मको लापरबाहीको कुरुप तस्विर बाहिर आएको हो ।
दुबईबाट चैत ६ गते नेपाल आएका ३५ वर्षीय युवकको अवस्था गम्भीर भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको आइसियूमा राख्ने तयारी हुँदै गर्दा आइतबार मृत्यु भएको हो ।
स्वदेश फर्किएपछि ती युवालाई उच्च ज्वरो आएको थियो । ज्वरो नघटेपछि र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
ती युवालाई आइसोलेसनमा राखिएको र उनको अवस्था दिनप्रतिदिन बिग्रिएपछि उनको स्वाब परीक्षणमा कुनै चासो नदिइएको देखिएको छ । यही लापरबाही र बेवास्ताका कारण ती युवकको मृत्यु हुँदासम्म पनि यसको कारण खुलेन ।
मृत्यु भएलगत्तै अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले ती युवकको स्वाब परीक्षणका लागि नमूना चैत १४ गते नै काठमाण्डौ पठाए पनि रिपोर्ट नआएको बताएका थिए । तर, सो अस्पतालको यस्तो दाबी झूठो रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा ती युवाको स्वाब परीक्षणका लागि यसअघि नआएको पुष्टि गरे । ‘बुटवलका एकजनाको क्वारेन्टाइनमा डेथ भयो, ती व्यक्तिको नमूना संकलन गरेर काठमाण्डौ आउने क्रममा छ ।’ उनले भने–‘नमूना परीक्षणपछि मात्र थाहा हुन्छ ती युवाको मृत्युको कारण ।’
स्वास्थ्य मन्त्रालयका प्रवक्ताको यो भनाईले ती युवाको नमूना परीक्षणमा स्थानीय अस्पताल र सम्बद्ध अरुले समेत कुनै चासै नदिएका प्रष्टिन्छ ।
जब ती युवाको मृत्यु भयो, त्यसपछि मात्र नमूना परीक्षण गर्ने सरकारी रबैया दुःखलाग्दो रहेको चिकित्सकहरु बताउँछन् ।
‘यो त जानाजान नागरिकहरुलाई मर्न छाडिदिएको जस्तो देखियो ।’ स्वास्थ्य अधिकारीहरु भन्छन्–‘बेलैमा स्वाब परीक्षण नगर्ने र ज्यान गएपछि मात्र नमूना परीक्षण हुने अवस्थाले हाम्रो देशको स्वास्थ्य अवस्थाको कुरुप तस्विर देखाउँछ ।’
1 minute ago
36 minutes ago
49 minutes ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago