काठमाण्डौ । सहकारी विभागले देशभरका सहकारी संस्थाहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावकारी ढंगले सेवा संचालन गर्न सर्कुलर जारी गरेको छ । 

शाखा अधिकृत देवराज लुइँटेलले यस्तो सर्कुलर जारी गरेका हुन् । 

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन अवधिमा पनि प्रशासनसँग समन्वय गरेर आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा दिंदै सम्पूर्ण प्रकृतिका खाताहरु नियमित रुपमा संचालन ल्याउन भनेको छ । 

संस्थामा तरलता व्यवस्थापन गर्दै नियमित रुपमा जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था समेत मिलाउन विभागले निर्देशन दिएको छ । 

यस्तै, उत्पादन तथा उपभोक्ता सहकारी संस्थाहरुले उत्पादित सामाग्रीको सहज वितरणको व्यवस्था मिलाउन, व्यवसायिक सहकारी संस्थाहरुले स्थानीय रुपमा नै मास्क, स्यानिटाइजर जस्ता वस्तुहरु उत्पादन र वितरणको व्यवस्था मिलाउन समेत भनिएको छ । 

महामारी नियन्त्रणका लागि संभव भएसम्मका माध्यमबाट सचेतना फैलाउने र उपलब्ध भएसम्मका सुरक्षाका सामाग्री वितरण गर्न र शंकास्पद बिरामी वा सदस्य देखिएमा सुरक्षित तवरले अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाउन समेत विभागले सर्कुलर गरेको छ ।