काठमाण्डौ । मन्त्रीपरिषदले संसद विघटनका लागि राष्टपतिसमक्ष सिफारिस गरेपछि मुलुकमा गम्भीर राजनीतिक संकट देखिएको छ । 

सत्तारुढ दल नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेकै बेला सो पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि देशभर तनाव हुने देखिएको छ । 

पोखरा, विराटनगर लगायतका शहरहरुमा ओलीको कदमको विरोधमा प्रदर्शन सुरु भइसकेको छ भने काठमाण्डौ लगायतका ठाउँमा समेत प्रदर्शनको तयारी थालिएको छ । 

काठमाण्डौको माइतीघर मण्डलामा नेकपाका माधव नेपाल र प्रचण्ड निकटका विद्यार्थी तथा युवाहरुले दिउँसो ३ बजे वृहत प्रदर्शन राखेका छन् भने बालुवाटारमा साझा विवेकशील दलको प्रदर्शन हुँदैछ । 

ओलीको कदमलाई डटेर विरोध गर्ने निश्कर्षसहित कांग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्न सुरु भएको छ भने अन्य दलहरु पनि छलफलमा जुटेका छन् । 

यसरी ओलीको हठात संसद विघटन गर्ने कदमपछि देशभर तनाव उत्पन्न हुने विश्लेषणसहित चारैवटा सुरक्षा निकाय हाइ अलर्टमा रहेको छ । 

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार ठाउँ ठाउँमा हुनसक्ने प्रदर्शन, संभावित तोडफोडलाई मध्यनजर गरी सुरक्षा युनिटहरुलाई हाई अलर्टमा राखिएको छ । 

यस्तै, सशस्त्र प्रहरी र नेपाली सेनाले समेत मातहतका सबै इकाईहरुलाई उच्च सतर्कता साथ रहन निर्देशन दिइसकेको छ । 

राष्टिय अनुसन्धानले पनि मातहतका सबै कर्मचारीलाई उच्च सतर्कता साथ सक्रियता बढाउन निर्देशन दिइसकेको स्रोतले बताएको छ ।