काठमाण्डौ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ।  

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांकअनुसार मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशत रहेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.२३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति १.१६ प्रतिशत रहेको छ।

यस्तै समीक्षा अवधिमा आयात ९.६ प्रतिशतले घटेको छ भने निर्यात ५.१ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले वृद्धि भई रु.५० अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.० प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ८.६ प्रतिशत र ०.८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५५.२ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भई रु.४१६ अर्ब ८१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा खुद ट्रान्सफर ८.५ प्रतिशतले वृद्धि भई रु.४५९ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.१ प्रतिशतले घटेको थियो।

देशको कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ।

समीक्षा अवधिमा चालु खाता रु.२१ अर्ब ३२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ। 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६.० प्रतिशतले कमी आई रु.४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई रु.४ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ५७ करोड रहेको थियो। 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२३ अर्ब ३० करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ।

संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च रु. ३०६ अर्ब ६६ करोड र राजस्व परिचालन रु. ३०१ अर्ब २३ करोड रहेको छ।  

पछिल्लो ५ महिनाको तथ्यांकअनुसार विस्तृत मुद्राप्रदाय ७.४ प्रतिशतले बढेको छ। त्यस्तै वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ। 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५ प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। 

तथ्यांकअनुसार वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१ प्रतिशत रहेको छ।