काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले जीवन बीमासम्बन्धी देशैभरि सर्भे सम्पन्न गरेको छ। 

नेक्सजेन म्यानेजमेन्ट बैंक बीमा कम्पनी र उद्योगव्यवसायलाई सहयोग र सल्लाह दिने उद्देश्यले स्थापित भएको कम्पनी हो। कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमासम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको थियो। जीवन बीमा गरिसकेका ४९२ जना बीमितसँग गरिएको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागि थिए।

प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितलाई सर्भेमा समावेश गरिएको थियो। ५० जना सहयोगी कर्मचारीलाई सहभागी गराइएको सर्भेको तथ्यांकहरु परिष्कृत गरी हेर्दा जीवन बीमाप्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको पाइन्छ। बीमा समितिले दिएको तथ्यांकमा बीमाको कभरेज १० वर्षभित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको छ। कभरेज बढेअनुसार दबाबमा (फोर्सफुल) बीमा गर्नेभन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको छ।

सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गर्नु भएको भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको भने ८ प्रतिशतले अभिकर्ताको दवावमा बीमा गरेको र ३ प्रतिशतले देखासिखिमा गरेको जवाफ दिएका छन्। बीमा कसरी गर्नुभएको ? भन्ने प्रश्नमा ३७ प्रतिशतले आफँैले सम्पर्क गरेर गरेको, ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरी बुझाएपछि गरेको र ३ प्रतिशतले अरुले गरेको देखेर बीमा गरेको पाइएको छ। 

खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नुभयो ? भन्ने प्रश्नमा ८० प्रतिशतले आफैँले पोलिसी विषयमा बुझेर गरेको, १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले पोलिसी विषयमा केही थाहा नभएको बताएका छन्।

त्यसैगरी बीमा गर्ने कम्पनीका बारेमा प्रश्नमा ७९ प्रतिशतले थाहा छ भने २७ प्रतिशतले अलिअलि थाहा भएको ३ प्रतिशतले केही थाहा नभएको जानकारी दिएका छन्। बीमितले खरिद गरेको पोलिसीको छनौट विषयमा सोधेको प्रश्नमा ६७ प्रतिशतले सावधिक, १५ प्रतिशतले मनिब्याक, १२ प्रतिशतले आजिवन, ४ प्रतिशतले एकल भुक्तानी र २ प्रतिशतले म्यादी बीमा खरिद गरेको जानकारी दिएका छन्। 

बीमा पोलिसी बिक्रीपछि अभिकर्ता सम्पर्कमा रहे नरहेकोबारेको प्रश्नमा ८० प्रतिशतले सम्पर्कमा रहेको, १२ प्रतिशतले किस्ता तिर्ने बेलामात्र सम्पर्क गर्ने गरेको र ८ प्रतिशतले पोलिसी बिक्रीपछि कुनै सम्पर्कमा नरहेको बताएका छन्। 

त्यसैगरी बीमा बिक्रीपछि कम्पनीले आवश्यक सूचना सम्प्रेषण बारेमा प्रश्न गर्दा ७० प्रतिशतले एसएमएस र फोन आउने गरेको, २८ प्रतिशतले एसएमएसमात्र आउने गरेको र २ प्रतिशतले कुनै सूचना नआएको जानकारी दिएका छन्।

बीमाको आवश्यकता बारेमा ८५ प्रतिशतले अति आवश्यक, १४ प्रतिशतले बचत छ भने गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नरहेको बताएका छन्। 

सर्भेमा बीमालाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनुपर्ने, ५ प्रतिशतले गरिबका लागि सरकारले केही राहत (सब्सिडी) दिनुपर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनुपर्ने जानकारी दिएका छन्। 

समग्रमा हेर्दा जीवन बीमा क्षेत्रमा आवश्यकताभन्दा कम्पनीहरु बढी भई अस्वस्थ प्रतिस्पर्धाका कारण केही विकृति आएको पाइन्छ। तर, बीमाप्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिवृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको पाइएको नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले जनाएको छ।