– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको सुरुआती दुई दिनमा पनि सेयर बजारमा निकै उत्साहजनक खरिदबिक्री देखिएको छ। 

साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबारको बजारलाई हेर्दा कारोबार तथा भोलुम दुवैले साथ दिइरहेको देखिन्छ। खासगरी लगानीकर्ता सेक्टरवाइज कारोबार गरिरहेकाले बजारमा ठूलो उतारचढाव आउने अहिले नै अनुमान गर्न सकिन्न।

मैनबत्ती विश्लेषणका आधारमा 

आजको मैनबत्तीले बढ्दो बजारमा इन्भर्टेड ह्याम्मर बनाएको छ (हेर्नुहोस् रातो एरो)। यसले बजारले दिशा परिवर्तन गर्न सक्ने संकेत गर्छ। घट्दो बजारमा यस्तो आकृति बनेको भए बजार बढ्ने संकेत हुने थियो। अघिल्लोपटक यस्तो चित्र बन्दा (हेनुहोस् कालो एरो) बजारमा करेक्सन आएको थियो। त्यसैले भोलिको मैनबत्ती कस्तो बन्छ, त्यो निकै महत्वपूर्ण हुन्छ। यदि कालो मैनबत्ती बनेमा आगामी दिनमा बिक्रीचाप पर्न सक्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। इलिअट वेभलाई आधार अहिले बजार इन्टरमिडिएट डिग्रीअन्तर्गत वेभ ३ तथा माइनर डिग्रीअन्तर्गत वेभ (५) चलेको अनुमान गर्न सकिन्छ। इलिअट वेभ र फिवोनासी एक्सटेन्सनलाई मिलाएर विश्लेषण गर्दा यसअन्तर्गत १.६१ को वृद्धि २९०६ मा पटक–पटक टेवा लिएर बजार माथि गएको छ। यो भनेको बजार निकै मजबुत रहेको छ भन्ने हो भने अब  २.६१ को वृद्धि झन्डै ३१६० सम्म पुग्न सक्ने अनुमान लगाउन सकिन्छ। यद्यपि यसबीच बजारमा साना–ठूलो करेक्सन भने आउन सक्छन्। (माथि मुख्य तस्बिरमा) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ को टेवा २९१८, ०.३८ को टेवा २८३८ तथा ०.५ को टेवा २७७१ र ०.६१ को टेवा २७२० सम्म बजार आउन सक्ने देखिन्छ। जुन तस्बिरमा हेर्न सकिन्छ।

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत सिग्नल बुलिस नै देखिन्छ र हिस्टोग्रामहरु पनि (कालो एरोले देखाएको) लामा–लामा हुँदै गएका छन्। हिस्टोग्राम लामा–लामा हुनु भनेको एमएसीडी लाइन र सिग्नल लाइन टाढा टाढा हुँदै गएको र बजार अझै बुलिस रहेको भन्ने हो। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको र आज सोमबारको कारोबारले इन्भर्टेड ह्याम्मर बनाएको छ (चित्रमा हेर्नुस कालो एरो)। जसले बजारको प्याट्रन परिबर्तन हुने संकेत गर्छ। यदि यो बढ्दो बजारमा बन्छ भने बजार घट्न सक्छ। घट्दो बाजरमा  बन्छ भने बजारले बाटो परिवर्तन गरेर बढ्न सक्ने अनुमान लगाउन सकिन्छ। आजको कारोबारले अप्पर ब्यान्डमा इन्भटर ह्याम्मर बनाएकोले भोलिको कारोबारमा बिक्रीचाप पर्न सक्ने अनुमान लगाउन सकिन्छ। 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ७९.२१रहेको छ। जसको अर्थ हुन्छ, ओभर बट जोनमा छ र अघिल्लो पल्ट यो विन्दु ९५.६४ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।