बुटवल । दैनिक ज्यालादारी गरी दुई छाक टार्ने अति विपन्न परिवारको अवस्था लकडाउनमा कस्तो होला ? दैनिक मजदूरी गर्ने विकल्प हराएपछि उनीहरुले कसरी छाक टार्दै होलान् ? देशको संघीय सरकारले यो विषयमा चासो नदिए पनि कतिपय स्थानीय सरकारहरुले भने त्यस्ता परिवार लक्षित राहातका प्याकेज घोषणा गर्न थालेका छन्।

बिहीबार बिहान रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिनै विपन्न वर्गलाई लक्षित गरी लकडाउन अवधिका लागि राहात प्याकेज घोषणा गरेको छ । 

नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई ‘लकडाउन’ अवधिमा चामल, दाल र नुन बाँड्ने वितरणको निर्णय गरेको हो । 

नगरपालिकाले नगर क्षेत्रभिका अति विपन्न परिवारलाई तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै डेलिभरी गरिदिने निर्णय गरेको हो । 

नगरप्रमुख बासुदेव घिमिरेका अनुसार सो नगरका १७ वटा वडामा करिब ८ सय हाराहारीमा अति विपन्न परिवार बसोबास गर्छन् । प्रत्येक वडाअध्यक्षले सिफारिस गरी त्यस्ता परिवारको विषयमा जानकारी दिनुपर्ने र सिफारिस आएपछि नगरपालिका आफैंले घोषित राहात सामाग्री ती परिवारको घरमै पुर्याइदिने व्यवस्था गरिएको घिमिरिेले जानकारी दिए ।