काठमाण्डौ । कोरोनाभाइरसको महामारी सुरु भएयता पहिलोपटक विश्वभरिको दैनिक थप सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघेको छ।

करिब दुई लाख ६० हजार मानिस थप सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ। त्यसमा सबैभन्दा धेरै नयाँ सङ्क्रमितहरू अमेरिका, ब्रजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका छन्। 

संसारभरि कोभिड-१९ का कारण ज्यान गुमाउनेहरूको सङ्ख्या छ लाख नाघेको छ। त्यसको एक चौथाइ अमेरिकाका छन्।

एकैदिनमा संसारभरि मारिनेहरूको सङ्ख्या ७,३६० पुगेको छ जुन मे १० तारिख यता भएको सबभन्दा धेरै दैनिक वृद्धि हो। शनिवार कुल सङ्क्रमितहरूको सङ्ख्या एक करोड ४० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

अमेरिकाका कैयन् राज्यहरूमा सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ। खासगरि सुरुमै कडा लकडाउन लागु गर्न तथा मास्क लगाउन आदेश दिन हिच्किचाएका दक्षिणी राज्यहरूमा अहिले धेरै सङ्क्रमण फैलिएको छ।

फ्लोरिडा, एरिजोना तथा टेक्ससमा धेरै बढेको छ। हाल फ्लोरिडा अमेरिकाभित्र सङ्क्रमणको केन्द्रविन्दु बनेको छ। त्यहाँ शनिवार एकैदिन १०,००० भन्दा धेरै थप सङ्क्रमित पाइएका थिए। त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या सवा तीन लाख नाघेको छ भने ज्यान गुमाउने सङ्ख्या ५,००० भन्दा धेरै छ। त्यहाँका अस्पतालहरूले उनीहरूको सघन उपचार कक्ष उच्च क्षमतामा चलिरहेको र नयाँ बिरामी लिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। – बीबीसी