-भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आरटीजीएस प्रणाली लागू गर्न सम्भव भएतापनि आवश्यक पूर्वाधार तथा संयन्त्रको अभाव बाधक बनेको देखिएको छ । 

गत पुस २९ नेप्सेको वार्षिक साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा पनि आरटीजीएस(रियल टाइम ग्रस सेटलमेन्ट) लागू गर्न निर्देशन दिएसँगै पूँजी बजारमा पनि यसको सम्भावना र कार्यान्वयनका विषयमा बहस छेडिएको छ । 

हाल बैंकहरुले समेत कार्यान्वयनमा ल्याइसकेको आरटीजीएस प्रणाली धितोपत्र दोस्रो बजारमा पनि प्रयोग गरिए प्रारम्भमा केही अप्ठ्यारा आएतापनि कालान्तरमा बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् । 

सेयर खरिदबिक्रीमा आरटीजीएस लागू भए बजार पारदर्शी हुने नेप्सेका एक उच्च अधिकारी जिकिर गर्छन् । उनका अनुसार धितोपत्र बोर्डको एउटा निर्देशन नै आरटिजिएस बजारमा लागू गर्न पर्याप्त छ । बोर्डले ढिलाइ नगरी यस विषयमा सरोकारवाला पक्षसँग छलफल र अन्तरक्र्रिया गरेर आरटीजीएस लागू गरिए नेप्सेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको पनि प्रभावकारिता बढ्ने र अझ बढी प्रविधिमैत्री हुनसक्ने ती अधिकारी दाबी गर्छन् । आरटीजीएस कार्यान्वयन गर्न सिडिएससीलाई नै जिम्मेवारी दिँइदा फरक नपर्ने उनको तर्क छ ।

सेयर खरिदबिक्रीमा सेटलमेन्ट गर्ने जिम्मेवारी पाइरहेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले हाल  क्लियरिङ बैंक र ब्रोकरको पूल अकाउन्टबाट धितोपत्र किनबेचको राफसाफ गरिरहेको छ । तर, आरटीजीएस लागू हुन वित्तीय क्लियरिङका लागि पनि नीति आवश्यक पर्ने र नीतिलाई कार्यान्वयन गर्ने निकायको जरुरत पर्ने सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेको भनाइ छ । उनका अनुसार आरटीजीएस लागू गर्न भने यथेष्ट पूर्वाधार र संरचना पनि आवश्यक पर्दछ ।

स्टक ब्रोकर्स एशोसिएनका उपाध्यक्ष टंक गौतम पूर्वाधार र संरचना भएमा आरटीजीएस लागू गर्न सम्भव रहेको बताउँछन् । लगानीकर्ताको बैंक खाता ‘क्लियरिङ बैंक’मा जोडिनुपर्ने उल्लेख गर्दै बैंकिङ सिस्टममा समेत संसोधन गर्न सकेको खण्डमा धितोपत्र बजार थप राम्रो हुने उनको जिकिर छ ।

सेयर कारोबार थप पारदर्शी हुने र असली सेयर लगानीकर्ताको तथ्याङ्क बाहिर आउने बताउँदै उनले सुरुमा कारोबार रकम घटे पनि लगानीकर्ताहरु फिल्टर भई सेयर बजारमा अनावश्यक चलखेलले प्रश्रय नपाउने बताए । 

स्वच्छ कारोबार भइरहँदा कमिसन रकम र करको सुरुवातमा गिरावट आएतापनि आरटीजीएसको परिकल्पना असाध्यै राम्रो भएको गौतम सुनाउँछन् । नीतिगत सुधार गर्न र आरटीजीएस लागू गर्दा यसका विविध आयाम र असर बारे सरोकारवाला पक्षसँग छलफल गर्न आवश्यक रहेको उनको भनाई छ ।

धितोपत्र कारोबार गर्दा अहिले आपसी समझदारीमा आर्थिक लेनदेन गर्ने, तर टीप्लस थ्रीको चक्रलाई पूर्ण कार्यान्वन नगर्ने विकृति व्याप्त छ । टीप्लस थ्रीमा ब्रोकरहरुकै बैंक खाताबाट तेस्रो दिनमा सेयर कारोबार राफसाफ भइरहे पनि सेयर किनेर लगानीकर्ताहरुले ब्रोकरहरुलाई पैसा दिन आनाकानी गर्ने र भुक्तानी नगरिदिँदा कमिसन रकमभन्दा पनि ब्याज तिर्दा ब्रोकरहरुलाई थप मार परिरहेको छ । घटिरहेको कमिसन रकम र सेयर खरिदमा लगानीकर्ताको भुक्तानी ढिलाइ अहिले ब्रोकरहरुलाई टाउको दुखाइको विषय बनिरहेको छ ।

बढ्दो बजारमा त झन् सेयर कारोबारीले ब्रोकरकै पैसामा खेल्ने र नाफाघाटा मात्र मिलान गर्ने प्रवृत्ति उहिल्यैदेखि चलिआएको चलन हो । दैनिक कारोबार रकम बढेर २ अर्ब नाघ्दा ब्रोकरलाई सेटलमेन्टका लागि रकम जोहो गर्न धौधौ परिरहेको हुन्छ र नेप्सेको कारोबार निलम्बनको कार्वाहीमा पर्ने डरले नै  उनीहरुले चर्को ब्याजमा सेटलमेन्ट रकमको जोहो र व्यवस्था गर्दै आइरहेका छन् । यसको अर्थ ब्रोकरहरु माथि पनि वित्तीय जोखिम बढ्दै गएको छ । यसैको संकेत पाएका अर्थमन्त्री खतिवडाले धितोपत्रको दोश्रो बजारमा समेत रियल टाइम ग्रस सेटलमेन्टको विषय उठान गरिदिएका थिए । अनेकन विकृति अन्तका लागि समेत आरटिजिएसको शीघ्र कार्यान्वयन सान्दर्भिक हुने जानकारहरु दाबी गर्छन् ।