काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ।

यो सरकारी स्वामित्वको कम्पनीले निजी क्षेत्रका बैंकहरुलाई टप्दै विगतमा झै नाफामा पुनः आफ्नो टप स्थान सुरक्षित गर्ने सफलता पाएको हो । 

बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ अर्ब २० करोड नाफा आर्जन गरेको छ । निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा बढी यो अवधिमा नवील बैंकले २ अर्ब ४ करोड नाफा आर्जन गरी राबा बैंकलाई पछ्याइरहेको छ । लामो समयदेखि नाफा तथा अन्य वित्तीय सूचकमा नवीलले पछ्याइरहे पनि राबा बैंकले जित्न दिएको छैन । दोश्रो त्रैमासमा पनि यस्तै अवस्था देखिएको छ । 

समीक्षा अवधिमा राबा बैंकले ३ अर्ब ६ करोड संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ४३ करोड थियो । 

राष्ट्रबैंकका कतिपय नियामकीय नीतिका कारण बैंकहरुको व्यवसाय बिस्तार, आम्दानी र नाफा घटिरहेको बेला राष्ट्रिय वाणिज्य बैंकले भने व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी बढाउने सफलता पाएको छ । अघिल्लो वर्ष यही अवधिमा ४ अर्ब ९५ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ५ अर्ब ६ करोडको उचाईमा पुगेको छ । 

यो अवधिमा बैंकले निकै सस्तो दरको सहुलियत कर्जा प्रवाहमा विशेष जोड दिंदा पनि ब्याज आम्दानी गत वर्षको तुलनामा बढाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म बैंकले ७ अर्ब २३ करोड ब्याज आम्दानी गरे पनि यो वर्ष त्यो बढेर ८ अर्ब ७२ करोडको उचाईमा पुगेको छ । 

बैंकको रिजर्ब झनै बलियो देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ११ अर्ब १८ करोडमा सीमित रिजर्बको आकार बढेर समीक्षा अवधिसम्म १२ अर्ब ४८ करोडमा बिस्तार भएको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ९४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको थियो । 

नौ अर्ब चुक्तापूँजी रहेको बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा १ अर्ब ९ करोड रहेको छ । 

यो अवधिमा बैंकको खराब कर्जा अनुपात ४.७७ प्रतिशत, कस्ट अफ फण्ड ४.०५ प्रतिशत, सीडी रेसियो ७२.६६ प्रतिशत, बेस रेट ६.६० प्रतिशत कायम भएको छ । बैंकको अघिल्लो वर्षको सीडी रेसियो ६९.२४ प्रतिशत तथा बेस रेट ५.६० प्रतिशत थियो । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी  ४९.०७ रुपैयाँ कायम भएको छ ।