काठमाण्डौ । दोश्रो बजारमा सुधार हुँदै जाँदा त्यसको प्रभाव सामूहिक लगानीकोषहरुको नाफा र प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ)मा समेत देखिन थालेको छ । 

देशमा संचालनमा रहेका सामूहिक लगानीकोषहरुको कुल लगानीको ठूलो प्रतिशत दोश्रो बजारमै केन्द्रीत हुने गरेको छ । यहीकारण समेत दोश्रो बजारको घटबढले यस्ता कोषहरुको न्याभमा प्रभाव पार्ने गर्दछ।

केही म्युचुअल फण्डहरुले असारको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमा सबैको न्याभ अघिल्लो महिनाको तुलनामा बढेको देखिएको छ । 

एनआइसी एशिया ग्रोथ फण्ड
एनआइसी एशिया क्यापिटलको व्यवस्थापन र एनआइसी एशिया बैंकको प्रवद्र्धनमा संचालित ७ वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको प्रति इकाई खूद सम्पत्ति मूल्य ११ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो महिनासम्म यस्तो मूल्य १० रुपैयाँ ८१ पैसामा सीमित थियो । 

अघिल्लो महिना ६ करोड ६४ लाखमा सीमित नाफा बढेर असार मसान्तसम्ममा १४ करोड १५ लाखको उचाईमा पुगेको छ । 

यो फण्डले सूचिकृत सेयरमा ५५ करोड ८० लाख तथा ऋणपत्रहरुमा २ करोड २५ लाख बढी लगानी गरेको छ । सूचिकृत नभएको धितोपत्रमा २ करोड ३१ लाख लगानी गरेको यो फण्डले मुद्धती निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ राखेको छ  

यो फण्डले २२ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, १० वटा जलविद्युत कम्पनी, ११ वटा लघुवित्त संस्था, ४ वटा जीवन बिमा कम्पनी, ८ वटा निर्जीवन बिमा कम्पनी, ३ वटा म्युचुअल फण्ड र २ वटा अन्य समूहका कम्पनीमा लगानी गरेको छ । 

एनआइसी एशिया ब्यालेन्स फण्ड
दश वर्षे अवधिको बन्दमुखी फण्ड, एनआइसी एशिया ब्यालेन्स फण्डको असार मसान्तसम्मको न्याभ ११ रुपैयाँ ८ पैसा कायम भएको छ । अघिल्लो महिनासम्मको न्याभ १० रुपैयाँ ३३ पैसामा सीमित थियो। 

समीक्षा अवधिसम्म यो फण्डले सूचिकृत सेयरमा ३७ करोड ८३ लाख तथा ऋणपत्रमा ८ करोड ८८ लाख लगानी गरेको छ । यस्तै, सूचिकृत नभएका सेयरमा  ५७ लाख ५९ हजार तथा मुद्धती निक्षेपमा ६ करोड ८० लाख लगानी गरेको छ । 

असार मसान्तसम्म यो फण्डको नाफा ८ करोड १२ लाख कायम भएको छ । अघिल्लो महिनासम्मको नाफा २ करोड ६४ लाखमा सीमित थियो । 

यो फण्डले २३ वाणिज्य बैंक, ९ विकास बैंक, ५ जलविद्युत कम्पनी, ४ जीवन बिमा कम्पनी, ४ निर्जीवन बिमा कम्पनी, ७ माइक्रोफाइनान्स कम्पनी, एक म्युचुअल फण्ड तथा अन्य समूहमा २ कम्पनीमा लगानी गरेको छ । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम
सिद्धार्थ क्यापिटल लिमीटेडको व्यवस्थापन र सिद्धार्थ बैंकको प्रवद्र्धनमा संचालित १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड सिद्धार्थ इन्भेष्टमेन्ट  ग्रोत स्किम २ को असार मसान्तसम्मको न्याभ ११ रुपैयाँ ८ पैसा कायम भएको छ । 

अघिल्लो महिनासम्मको न्याभ १० रुपैयाँ १३ पैसामा सीमित थियो । 

समीक्षा अवधिसम्म यो फण्डले सूचिकृत सेयरमा ८५ करोड बढी, ऋणपत्रमा ४ करोड ३७ लाख बढी, सूचिकृत नभएका धितोपत्रमा २ करोड ४५ लाख बढी तथा बैंक मुुुुद्धती निक्षेपमा १२ करोड लगानी गरेको छ । 

यो फण्डको असार मसान्तसम्मको नाफा १२ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनासम्मको नाफा १ करोड ५८ लाखमा सीमित थियो । 

यो फण्डले विभिन्न समूहका ५० वटा कम्पनीको सेयरमा लगानी गरेको छ । 

सिद्धार्थ इक्वीटी फण्ड
यो पनि १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड नै हो । यो फण्डको असार मसान्तसम्मको न्याभ ११ रुपैयाँ १७ पैसा कायम भएको छ । अघिल्लो महिनासम्मको न्याभ १० रुपैयाँ २६ पैसा थियो । 

समीक्षा अवधिसम्म यो फण्डको नाफा १५ करोड ३४ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनासम्म १ करोड ७२ लाखमा सीमित थियो । 

असार मसान्तसम्म यो फण्ले सूचिकृत सेयरमा १ अर्ब १२ करोड १८ लाख बढी लगानी गरिसकेको छ । बैंक मुद्धती निक्षेपमा १५ करोड राखेको यो फण्डले ऋणपत्रमा ६ करोड २९ लाख तथा सूचिकृत नभएका धितोपत्रमा २ करोड ७१ लाख बढी लगानी गरेको छ । 

यो फण्डले समीक्षा अवधिसम्म ७२ वटा विभिन्न समूहका कम्पनीको सेयरमा लगानी गरेको छ ।